काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ। ‘बीसे नगर्चीको बयान’ कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह सार्वजनिक भएको हो।
‘बीसे नगर्चीको बयान’ले २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जनतालाई सडकमा उतार्न र आन्दोलनलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
गीतकार, उपन्यासकार एवं फिल्म लेखकका रूपमा स्थापित मुकारुङको गत वर्ष प्रकाशित ‘सलह’ ले २०८२ सालको प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो।
४ दशकदेखि कविता कर्ममा सक्रिय मुकारुङको नयाँ कविता–कृति ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ मा पछिल्लो डेढ दशकमा लेखिएका राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनासहितका कलात्मक कविताहरू समावेश छन्।
मुकारुङका यसअघि देश खोज्दै जाँदा (कवितासङ्ग्रह, २०४८), हिउँको दरबार (गीत सङ्ग्रह, २०५३), यलम्बर (नाटक, २०५३), जीवनको लय (कविता सङ्ग्रह, २०६०), तर्कहरूको विपक्षमा (निबन्ध सङ्ग्रह, २०६५), बिसे नगर्चीको बयान (कविता सङ्ग्रह, २०६७), भावालय (निबन्ध सङ्ग्रह, २०७१), सुन रे सियाराम (गीत सङ्ग्रह, २०७१), मितिनी (नाटक, २०७५), क्वारेन्टाइन कविता (सम्पादन), सलह (उपन्यास, २०८२) प्रकाशित छन्।




