काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार (असोज २३) मा भएको मतदानको आज (असोज २४) गते बिहान सम्पन्न मतगणनामा सभापतिका उमेदवार थापाले ६ हजार ५८४ मत ल्याएर विजयी भएका निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।
निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ बदर भएको थियो।
२०४६ सालको जनआन्दोलनका क्रममा कक्षा–९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी भएका थापा झन्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुगेका हुन्। नवनिर्वाचित सभापति थापाले ०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए।
२०४८ मा नेपाल विद्यार्थी संघ (नेपाल विद्यार्थी संघ काठमाडौं वडा नं ३३ को सचिव बनेका उनी ०५१ मा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, ०५३ मा सचिव र ०५५ सालमा सभापति निर्वाचित भएका थिए।
०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेका थापा ०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष र ०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याएका थिए। ०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दा समेत लगाइएको थियो।
अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो। २०६२०६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रका पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए।
०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बनेका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय थिए। ०७० मा काठमाडौं क्षेत्र नम्बर–४ बाट निर्वाचित भएपछि उनले संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याए। ०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर उनले कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेलेका थिए।
०७३ मा स्वास्थ्यमन्त्री बनेका थापाले आफ्नो नौमहिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए। ०७४ र ०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसद्मा उठाउँदै आएका थिए।
०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारका पक्षमा काम गर्दै आएका थिए। ०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता बढाउनुपर्ने भन्दै अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थापा त्यसबाट पार्टी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए।
विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिएका थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित भएका हुन् राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आएका थिए।
युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन्। विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रालाई कांग्रेसको भावी दिशा, संगठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आएको छ।




