काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठले ललितपुरको गोदावरीमा बिहीबार आयोजित १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।
उनले पुष्प व्यवसाय महिला, युवा, साना किसान तथा ग्रामीण क्षेत्रका उद्यमीका लागि आयआर्जन र आत्मनिर्भरताको महत्त्वपूर्ण माध्यम बनेको बताए।
‘महिला, युवा, साना किसान, ग्रामीण क्षेत्रका उद्यमीका लागि पुष्प व्यवसाय आयआर्जन र आत्मनिर्भरताको महत्त्वपूर्ण माध्यम बनेको छ। थोरै क्षेत्रफलबाट पनि तुलनात्मक रूपमा उच्च मूल्यको उत्पादन गर्न सकिने भएकोले उपयुक्त प्रविधि, गुणस्तरीय उत्पादन र बजारको व्यवस्था गर्न सकेमा यस क्षेत्रले कृषि आधुनिकीकरण र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याउन सक्नेछ,’ उनले भने, ‘आर्थिक वर्ष ०८०/०८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको जानकारी गराउन चाहन्छु।’
श्रेष्ठका अनुसार हाल नेपालको पुष्प खेती सातै प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। उपलब्ध क्षेत्रगत विवरणअनुसार ५४ जिल्लामा ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प खेती भइरहेको छ।
यस क्षेत्रमा १ हजार ४४५ भन्दा बढी व्यवसायी तथा उद्यमी संलग्न छन् भने ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ। त्यस्तै, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ६५ हजारभन्दा बढी जनशक्तिले यस क्षेत्रबाट रोजगारी प्राप्त गरिरहेको उनले बताए।
भन्सार विभागको उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको १६ करोड १३ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने १ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।
यो तथ्यांकले मुलुकमा पुष्प व्यवसायको सम्भावना बढ्दै गए पनि स्वदेशी उत्पादन र बजारको मागबीच ठूलो अन्तर रहेको देखाउने श्रेष्ठले बताए।
‘अब हाम्रो प्राथमिकता उत्पादन बढाउने मात्र नभई गुणस्तर सुधार गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने र स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने रहनुपर्छ। हामीले विदेशबाट फूल आयात गर्ने बजार मात्र होइन, नेपाली फूल उत्पादन गरेर स्वदेशी माग पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने सक्षम क्षेत्र निर्माण गर्नुपर्छ,’ उनले भने।
श्रेष्ठले पुष्प व्यवसायको दिगो विकासका लागि नीतिगत सुधार, आधुनिक बजार पूर्वाधार तथा उत्पादन प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिए।
उनले पुष्प प्रवद्र्धन नीति, २०६९ को पुनर्लेखन तथा प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। पुष्प तथा आलंकारिक बालीका नयाँ जात छिटो विकास हुने र अन्तर्राष्ट्रिय बजारको माग पनि परिवर्तन भइरहने भएकाले नयाँ जातको दर्ता, आयात, परीक्षण तथा व्यावसायिक प्रयोगसम्बन्धी प्रक्रिया सहज बनाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै, प्रतिबन्धित प्लास्टिकजन्य कृत्रिम फूल तथा पुष्पजन्य वस्तुको प्रयोग, बिक्री वितरण र प्रचारप्रसार नियन्त्रण गर्न उनले माग गरे। यस्ता सामग्रीको प्रयोगले वातावरणमा प्रतिकूल असर पार्नुका साथै स्वदेशी प्राकृतिक फूलको बजारमा समेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ।


