काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको छ ।
विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले ५० हजार रूपैयाँको आर्थिक सहयोग गरेको हो ।
विद्यालय ग्राउन्ड सतहभन्दा करिब ४ फिटतल रहेको, बर्षायाममा कक्षा कोठामाबाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजनाअन्तर्गत रही विद्यालय सुधार गर्न लागिएको हो ।
६ महिनादेखि ९ वर्षसम्मका १५० जना बाल बालिकाहरुलाइ दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्ने जनाएको छ ।
