काठमाडौं- अली अब्बास जफरले निर्देशन गरेको फिल्म ‘बडे मिया, छोटे मिया’को टिजर ‘फाइटर’सँगै ठूलो पर्दामा रिलिज हुने भएको छ। ‘बडे मिया छोटे मिया’मा अक्षयकुमार र टाइटर श्राफको मुख्य भूमिका छ। निर्देशक जफरले फिल्मको टिजर ‘फाइटर’सँगै रिलिज गर्ने तयारी गरेका हुन्।
पुजा एन्टरटेनमेन्टले निर्माण गरेको फिल्मको टिजर २४ जनवरीमा रिलिज गर्ने तयारी भइरहेको पिंकभिल्लाले जनाएको छ। टिजर एक्सनले भरपूर हुने बताइएको छ। ‘टिजर २४ जनवरीमा डिजिटलरुपमा रिलिज हुनेछ। १ मिनेट ४० सेकेन्डको टिजर फाइटरसँगै ठूलो पर्दामा पनि रिलिज गर्ने तयारी छ,’ पिंकभिल्लाले लेखेको छ।
यो फिल्म २०२४ को ईदमा रिलिज हुनेछ। फिल्मको सम्पादनको काम करिब टुंगिएको छ। अहिले फिल्मको युनिट ३ वटा गीतको छायांकनका लागि जोर्डनमा छ।
२५ जनवरीमा रिलिज हुने ‘फाइटर’मा भने ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ। यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्।


