काठमाडौँ- माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’लाई लिएर यसका नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिए। मिडिया कुराकानीका क्रममा सौगात र उपासनाले फिल्मले दर्शकलाई २ घण्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए।
फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन्। यो फिल्मका लागि सौगातले कपाल पनि लामो पालेका थिए। सौगात भन्छन्–‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोसिस गरेका छौं। यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ। आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ।’
फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायकद्धय दयाहाङ राई र सौगात मल्लको साथमा नायिका उपासना सिंह ठकुरीले ‘हात्तीछाप’मा काम गरेका हुन्। उपासना पनि फिल्मलाई लिएर निकै नै खुशी देखिइन्।
फिल्मले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाइ छ। उपासना भन्छिन्, ‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु। यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो। यसमाथि, दया र सौगात दाई भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ।’
फिल्म ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो। यसपटक भने, दया र उपासनाको प्रेम देखाइएको छ। यो बिषयमा उपासना भन्छिन्–‘यो फिल्ममा दया दाई र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ। दर्शकले, दया दाई र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ।’
फिल्मका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ नयाँ कुराहरु फिल्ममा आफैले जोड्न पाएको सौगातले सुनाए। उनले रमाइलो गर्दै भने–‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो थियो। उहाँलाई यसो गरौं भन्ने वित्तिकै गर्न पाइने। यसैले, केही संवादहरु मैले आफै थपेको छु। निकै रमाइलोसँग काम गर्यौं।’
फिल्ममा भुकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छिन्। उनले भनिन्–‘हाम्रो फिल्मले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ। कतिपय कुराहरु हामीले देखेर पनि वेवास्ता गरिरहेका हुन्छौं, ती विषय फिल्ममा छन्। यस्तै, फिल्मले भुकम्पको कथालाई पनि उठान गरेको छ। समसामयिक बिषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ।’
किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कलाकारहरुको लाइनअप पनि लामो छ। अर्कोतिर, यो फिल्मको टिजरले दर्शकको माया पाइसकेको छ। निर्माणपक्षले ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ। मंसिरदेखि चिसिएको फिल्मको व्यापारलाई यो फिल्मले गर्मिलो बनाउने अपेक्षा गरिएको छ।


