काठमाडौं- भारत र मालदिभ्सबीच उत्पन्न भएको तनावका कारण सलमान खान र करण जोहरको फिल्म ‘द बुल’ धकेलिएको छ। फेब्रुअरीबाट फ्लोरमा जाने भनिएको फिल्म २ महिनाका लागि धकेलिएको बलिउड हंगामाले जनाएको छ।
विष्णुवर्धनले निर्देशन गर्ने ‘द बुल’ मार्फत सलमान खान र करण जोहर २५ वर्षपछि सहकार्य गर्न तयार थिए। फिल्मको शुभमुहुर्त २८ डिसेम्बरमा मुम्बई फिल्म सिटीमा भइसकेको छ। ‘करण, विष्णु र सलमान पटकथालाई थप सटिक बनाउन चाहान्छन्। पटकथाको कामसँगै भारत र मालदिभ्सबीचको तनाव शान्त भएपछि फिल्म फ्लोरमा जानेछ। तत्कालका लागि फिल्म २ महिना पर धकेलिएको छ,’ समचारमा उल्लेख छ।
यो फिल्म मालदिभ्सलाई आतंककारी हमलाबाट बचाउन भारतीय सेनाले चलाएको अप्रेशन क्याक्टसमा आधारित छ। फिल्ममा सलमान फारुख बुल्सराको भूमिकामा देखिनेछन्।


