काठमाडौं- निर्देशक सिद्धार्थ आनन्द अहिले एक्सन स्पेशलिस्टकारुपमा परिचित छन्। उनले सन् २००५ मा ‘सलाम नमस्ते’, २००८ मा ‘बचना ऐ हसीना’ र २०१० मा ‘अन्जाना अन्जानी’ जस्ता फिल्मका साथै सन् २००७ मा ‘तारा रमपम’ जस्ता फिल्म बनाएर पारिवारिक संघर्ष र रोमान्टिक कमेडी फिल्म निर्माताकारुपमा करियरको सुरुवात गरेका थिए।
तर उनले आफ्नो रुची एक्सन फिल्ममा देखाए। उनले बनाएका सबै एक्सन फिल्मले सय करोडको आँकडा पार गरे। उनले ऋतिक रोशन र कटरिना कैफ स्टारर फिल्म ‘ब्याङ ब्याङ’ मार्फत एक्सन फिल्ममा कदम राखे। यो फिल्मले करिब २ सय करोड कमायो। उनको दोस्रो फिल्म हो- ‘वार’। यो फिल्ममा ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका थियो। यो फिल्म पनि बक्स अफिसमा हिट रह्यो।
सिद्धार्थको निर्देशनमा बनेको फिल्म ‘पठान’ले बक्स अफिसमा कयौं रेकर्ड तोड्यो र आफ्नो नाममा रेकर्ड बनायो। सन् २०२३ मा रिलिज भएको फिल्ममा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका थियो। यो फिल्मले ५४३.०५ करोड कमाएको थियो।
अहिले सिद्धार्थको निर्देशनमा बनेको फिल्म ‘फाइटर’ प्रदर्शनरत छ। ‘फाइटर’ले पनि सय करोडको आँकडा पार गरिसकेको छ। सिद्धार्थका ४ वटा फिल्मले सय करोडको आँकडा पार गरेका छन्। यो सँगै उनले सय करोड कमाउने चार फिल्म दिएका राजकुमार हिरानी, सञ्जय लिला भन्साली र कबीर खानसँग बराबरी गरेका छन्। हिरानीका ‘थ्री इडियट्स’, ‘पिके’, ‘सञ्जु’ र ‘डंकी’ले सय करोड भन्दा बढी कमाएका छन्। भन्सालीका ‘गोलियों की रासलीला है: राम लीला’, ‘बाजिराव मस्तानी’, ‘पद्मावत’ र ‘गंगुबाई काठियावाडी’ले सय करोड भन्दा बढीको कलेक्सन गरेका छन्।
कबीर खानका ‘एक था टाइगर’, ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’ र ‘८३’ फिल्मले सय करोड भन्दा बढीको कलेक्सन गरेका छन्। तर, सबैभन्दा धेरै सय करोड कमाउने फिल्म दिने निर्देशक हुन्-रोहित सेट्टी। उनका ९ वटा फिल्मले सय करोड भन्दा बढी कमाएका छन्।
यी हुन् सय करोड क्लबका ४ भन्दा बढी फिल्म दिने निर्देशक
१. रोहित शेट्टी- ९ फिल्म
२. सिद्धार्थ आनन्द – ४ फिल्म
३. राजकुमार हिरानी – ४ फिल्म
४. सञ्जय लीला भन्साली – ४ फिल्म
५. कबीर खान – ४ फिल्म


