काठमाडौं- ‘एनिमल’का निर्देशक सन्दीप रेड्डी भांगाले बलिउड सुपरस्टार सलमानसँग फिल्म बनाउने तयारी गरेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले सलमानलाई एउटा स्क्रिप्टका साथ अप्रोच गरेका छन्। यो एक डार्क क्राइम एक्सन फिल्म हुने बताइएको छ। यो फिल्ममा सलमान सबैभन्दा फरक रोलमा देखिन सक्छन्।
केही दिनयता बलिउडमा यो खबरले सनसनी मच्चाएको छ। तर यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। मिडिया रिपोर्ट्स अनुसार सन्दीपले सलमानलाई आगामी फिल्मका लागि सम्पर्क गरेका छन्। यो खबर तब देखि फैलिएको हो, जब भांगाले अन्तर्वार्ताका क्रममा सलमानसँग काम गर्ने इच्छा जाहेर गरेका थिए। सन्दीपले शाहरुख खान र चिरञ्जीवीसँग पनि काम गर्न चाहेको बताएका थिए।
केही दिन यता सलमान र सन्दीपकोकाे विषयले सामाजिक सञ्जाल तातिएको छ। यद्यपी तत्कालै सलमान र सन्दीपको फिल्म आउने सम्भावना समेत कम छ। सन्दीप आगामी फिल्म ‘स्प्रिट’को तयारीमा छन्। यो फिल्ममा प्रभासको मुख्य भूमिका हुनेछ। ‘स्प्रिट’ पछि सन्दीप ‘एनिमल’को सिक्वेल ‘एनिमल पार्क’ बनाउनेछन्। उनले अल्लू अर्जुनसँग समेत फिल्म बनाउन सक्ने बताइएको छ। यस्तोमा सलमान र सन्दीपले तत्कालै सहकार्य गर्ने सम्भावना कम देखिन्छ।
सलमान भने ‘द बुल’को सुटिङ गर्ने तयारीमा छन्। यो फिल्मको सुटिङ फेब्रुअरीमा सुरु हुने बताइएको थियो। तर भारत-मालदिव्सबीचको तनावका कारण फिल्मको सुटिङ केही समय धकेलिएको छ। यो फिल्मलाई ‘शेरशाह’का निर्देशक विष्णु वर्धनले निर्देशन गर्छन्। धर्मा प्रोडक्सनले निर्माण गर्ने फिल्म ‘अपरेसन क्याक्टस’मा आधारित रहनेछ। फिल्ममा सलमान प्यारामिलिट्री अफिसरको भूमिकामा देखिनेछन्।
‘द बुल’पछि सलमानले शाहरुखसँग ‘टाइगर भर्सेस पठान’मा काम गर्नेछन्। यो फिल्मको सुटिङ २०२४ को अन्त्यसम्ममा सुरु हुनेछ। यस्तै सलमान सुरज बडजात्याको फिल्ममा पनि काम गर्नेछन्। अहिले यसको स्क्रिप्टमा काम भइरहेको बताइएको छ।


