काठमाडौँ- बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार ९२ अंकले बढेको सेयर बजार परिसूचक नेप्स बिहीबार २९ अंकले घटेको छ।
२९.०७ अंकले घटेर नेप्से १ हजार ९३४ अंकको बिन्दुमा रोकिएको छ। कुल २१८ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।
बुधबारको तुलनामा बिहीबार करोबार रकम पनि करिब ३७ करोड रुपैयाँले घटेको छ। आज कारोबार भएका २०० कम्पनी सेयरमा गिरावट आएको छ भने १६ कम्पनीको कारोबार बढेको छ।
दुई कम्पनीको सेयर मुल्यमा कुनै पनि घटबढ नभएको नेप्सले जनाएको छ। आज कारोबार भएका कम्पनीमध्ये आदर्श लघवित्त वित्तीय संस्था, कालिनचोक दर्शन लिमिटेड र मैलुङ जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ।
शिवम सिमेन्ट कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। ४०५ रुपैयाँ प्रतिकित्ताका दरले शिवम सिमेन्टको ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ।
