काठमाडौँ- गायिका एलिना चौहानलाई चोरीको आरोप लागेको छ। गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन्। एलिनालाई मात्रै नभई निर्मातालाई पनि चोरीको आरोप लागेको हो।
आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको कार्कीको दाबी छ।
इन्स्टाको फोटो, मिनिरल वाटर, कुरा काट्ने मान्छेले काटुन्लगायतका कैयौँ हिट गीत दिएकै बेला एलिनाको ‘कट्टा हानिदिन्छु’ ले चर्चा कमाइरहेका बेला एकाएक चोरीको आरोप लागेको हो।
‘मेरो गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु। धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने छ,’ गायक कार्कीले भने, ‘एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु। धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने छ।’
आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताए।
‘गीतको केही शब्द मिलेको हो। शब्द कसैको पनि व्यक्तिगत पेवा हुँदैन’, रायमाझीले भने, ‘मेलोडी, भाका मिल्यो भने मात्र कपी भन्न मिल्छ।’
आफ्नो गीतको मेलोडी भाका सबै कार्कीको गीतभन्दा फरक रहेको रायमाझी सुनाउँछन्। तर रायमाझीको कुरासँग गायक कार्की भने असहमति जनाउँछन्।
‘मेरो गीत २ बाई ४ को बिटमा छ,’ कार्की भन्छन्, ‘उहाँहरूको गीतको बिट पनि उही हो। के यो संयोग हुनसक्छ र?’
गीतको भिडियो कार्कीले भन्दा रायमाझीले केही दिन अगाडि सार्वजनिक गरेका हुन्। यसकारण दर्शकलाई एलिनाको गीत पहिले आएको जस्तो लाग्ने कार्की बताउँछन्।
भिडियो बनाउन ढिलो भए पनि गीतको रेकर्ड एक वर्ष अगाडि भएको र अडियो मात्र डिजिटल प्लेटफर्ममा रायमाझीको भन्दा धेरै पहिले आफूले ल्याएको गायक कार्की सुनाउँछन्।

गायिका एलिना चौहान।
‘पहिले रेकर्ड भएको गीतको भिडियो किन पहिले आएन भनेर रायमाझीले भन्नु भएको छ। हो, मैले गीतको भिडियो बनाउन ढिलो गरेँ,’ कार्कीले थपे, ‘भिडियो आएन भन्दैमा पहिले रेकर्ड भएर अडियो सार्वजनिक भैसकेको गीत मेरो हुँदैन र भन्न मिल्छ र?’
आफ्नो गीतको अडियो करिब ८ महिना अगाडि सार्वजनिक भएको कार्कीले खुलाए।
रायमाझीले सार्वजनिक गरेको गीतको शब्द नेत्र अर्यालले लेखेका हुन्। अर्यालले यो गीत ४ वर्ष पहिले नै यो गीत लेखेको रायमाझीको दाबी छ।
‘गीत कपिराइटमा पनि दर्ता गरिसकेको छु। गीत तीन महिना पहिले कपिराइटमा दर्ता गरेको छु,’ रायमाझीले थपे।
गीत कपी भएको भए दर्ता नै नहुने रायमाझीले बताए। ‘कपिराइटमा दर्ताको प्रमाण चाहिन्छ भने पेस गर्न तयार छु,’ रायमाझीले थपे।
गायिका एलिनाको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ। गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ।
भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन्। त्यस्तै गायक कार्कीको स्वर रहेको गीतमा कार्की जी (सुवास) र मेगेन्द्र सुवेदीको शब्द तथा कार्कीजीको संगीत छ।
गीतको भिडियोमा राजेन्द्र खड्गी, जयकिसन बस्नेत, दीपा शाही लगायतको अभिनय छ। भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्।
हालै मात्र प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएर तनावमा रहेकी गायिका चौहानलाई चोरीको आरोपले फेरि सताएको छ।


