काठमाडौँ- माघ २६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रिमियर प्रदर्शन गरिएको छ। फिल्मीकर्मी, पत्रकार र कलाकारहरूको उपस्थितिमा मंगलबार बेलुका प्रिमियर प्रदर्शन गरिएको थियो।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप भारद्वाजको कथा छ। फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले नेपालको ऐतिहासिक घटनामा आधारित भएर कथावस्तुलाई दुई घण्टामा अटाएकोमा प्रशंसा गरे।
निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाईं , नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका थिए।
फिल्म हेरेपछि नायिका बेनिशा हमाल उत्साहित देखिइन्। फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन्। अर्की नायिका उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्।
फिल्म ‘हात्तीछाप’मा ‘बोतल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्ल छन्। उनले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे।
फिल्मले विशेषगरी, दयाहाङ राई र सौगात मल्लको आ–आफ्नो कथालाई भनेको छ । तर, यी दुईको कथाको मेल कहाँबाट कसरी हुन्छ, यसका लागि दर्शकले फिल्म हेर्नुपर्ने हुन्छ। फिल्मको अग्रिम बुकिङ पनि सुरु भएको छ।


