काठमाडौँ- १५ फेब्रुअरीबाट सुरु हुने ७४ औं बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा दक्षिण एसियाबाट ९ वटा फिल्म प्रदर्शन हुने भएका छन्।
प्रतियोगिताको मुख्य विधामा मीन भाम निर्देशित ‘साम्बाला’ छनोट भएको छ। २९ फेब्रुअरीमा बर्लिनमा यो फिल्म प्रिमियर हुनेछ।
फिल्मले आफ्नो पति खोज्न हिंडेकी एक गर्भवति महिलाको आध्यात्मिक यात्रालाई देखाउँछ। नेपालबाट कुनै पनि फिल्म बर्लिनको मुख्य प्रतिस्पर्धामा छानिएको यो पहिलो पटक हो।
भारतबाट मुख्य प्रतिस्पर्धामा यसपटक कुनै पनि फिल्म छैन। पछिल्लोपटक भारतबाट सन् १९९४ मा द सेल्टर अफ विंग्स मुख्य प्रतिस्पर्धामा छानिएको थियो। यद्यपी, अन्य विभिन्न क्याटागोरीमा यस वर्ष ७ वटा भारतीय फिल्म छनोट भएका छन्।
मिड डेका लागि भारतीय पत्रका मिनाक्षी रेड्डी लेख्छिन्, ‘आशा छ यो छनोटले आत्मरतीमा रमाउने भारतीय फिल्ममेकर र बेवास्ता गर्ने फिल्म दर्शकलाई महसुस हुनेछ कि हाम्रो सानो दक्षिण एसियाली छिमेकमा पनि विश्वस्तरीय प्रतिभाहरु छन्। कहिलेकाँहि उनीहरु हामीभन्दा पनि राम्रो भएका छन्।’
समग्रमा, दक्षिण एसियाको उपस्थिती बर्लिनमा बलियो हुनेछ। यस वर्ष ९ वटा दक्षिण एसियाली फिल्म यस फेस्टिभलमा प्रदर्शन हुनेछन्।
त्यस्तै युवा फिल्ममेकरका लागि लक्षित कार्यक्रम बर्लिन ट्यालेन्टमा दक्षिण एसियाबाट ९ जना छनोट भएका छन्। त्यस्तै, पाकिस्तानी मुलका अनाम अब्बास यस वर्षका लागि बर्लिन ट्यालेन्ट आवेदन छनोट जुरीमा सदस्य छन्।
राम रेड्डीको द फाब्ली पनि प्रतिष्ठित इनकाउन्टर सेक्सनमा छ। सिद्धार्थ जाट्लाको ‘इन द बेली अफ अ टाइगर’ र ‘विनोथ राज कुट्टकलीको द एडामन्ट गर्ल’ दुवै फोरम सेक्सनमा छानिएका छन्।
त्यसैगरी जेनेरेसन सेक्सनमा नेपालबाट सौरभ घिमिरेको ‘संग्स् अफ लभ एन्ड हेट’ पनि छानिएको छ।

