काठमाडौं- सन् २०१९ मा फिल्म ‘वार’मा ऋतिक रोशनले निभाएको पात्र एजेन्ट कबीर खुब चर्चामा रह्यो। सन् २०२३ को दिपावलीमा रिलिज भएको फिल्म ‘टाइगर ३’को पोस्ट क्रेडिट सिनमा ऋतिक पुन जासुसको अवतारमा देखिए। जुन ‘वार २’को घोषणा थियो। अब ऋतिकले आगामी साता देखि ‘वार २’को सुटिङ गर्ने भएका छन्।
वाईआरएफ स्पाई यूनिवर्सको यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गर्नेछन्। ‘ऋतिक रोशनले २३ फेब्रुअरी देखि वार २ को सुटिङ गर्ने तयारी गरेका छन्। उनले दुई सातासम्म एक्शन सीक्वेन्स सुटिङ गर्नेछन्,’ स्रोतको हवला दिँदै पिंकभिल्लाले लेखेको छ। ऋतिकले पछिल्लो २ साता देखि ‘वार २’का लागि शारिरिक ट्रेनिङ लिइरहेका छन्। त्यही क्रममा उनको ढाडमा चोट समेत लागेको छ। तर त्यो चोट गम्भीर नरहेको बताइएको छ।
‘वार २ मा यस्तो एक्सन हुनेछ। जुन यो भन्दा पहिले देख्न पाइएको थिएन। यसको छनक टाइगर ३ को पोस्ट-क्रेडिट सिनमै दिइएको थियो,’ समचारमा उल्लेख छ। यो फिल्म सन् २०२५ अगस्ट १४ मा रिलिज हुनेछ। यो फिल्म स्पाई युनिभर्सको छैटाैं फिल्म हुनेछ।
फिल्ममा जुनियर एनटिआरको पनि मुख्य भूमिका रहनेछ। उनी खलनायकको भूमिकामा देखिने बताइएको छ। यस्तै फिल्ममा कियरा अडवाणी पनि मुख्य भूमिकामा देखिनेछिन्।
