पोखरा- मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ। नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर गरिएको हो।
पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गर्ने निर्माता तुलबहादुर सारु मगरले बताए।
‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौँ,’ निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दैछौं।’
माराङ चलचित्र फाइदाको लागि भन्दा पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणको लागि निर्माण गरेको उनको भनाइ छ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरले माराङ चलचित्र मगर भाषामा भएकाले यस भाषाको संरक्षणमा जोड दिएको उल्लेख गरे।
‘पछिल्लो पुस्ताले मगर भाषा बुझ्दैन, बोल्न खोज्दैन, हाम्रो कला संस्कृति हराउँदै छ’, थापामगरले भने, ‘माराङ चलचित्र मगर भाषामा निर्माण भएको छ, यस चलचित्रले भाषा, संस्कृतिसँगै कलाको संरक्षणमा महत्वपूर्ण सहयोग पुर्याउँछ।’
चलचित्रमा रमेश बाबु थापामगर, सृजना मरासङ्गी मगर, टिका थापामगर, टेक रानामगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर र सञ्जोक लाफामगरलगायतको अभिनय छ।


