काठमाडौँ– अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन्। शुक्रबार फेसबुकमा उनले छोरीसहितको तस्बिर राख्दै आफू आमा बनेको जानकारी गराएकी हुन्।
अभिनेत्री थापाका पति बलराम शाही ठकुरीसहित परिवार अमेरिकामा नै बस्ने भएकाले गर्भवती अवस्थाको अन्तिम समयमा उनी अमेरिका प्रस्थान गरेकी थिइन्।
शुक्रबार नवजात शिशुसहितको तस्बिर राख्दै उनले फेसबुकमा खुशी साटेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनुको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी।’
हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मन, काली, जाऔँ हिँड पोखरा’लगायतका थुप्रै चलचित्रमा अभिनय गरेकी छिन्।
उनको पछिल्लो चलचित्र ‘उपहार’ फागुन २५ गतेदेखि हलहरूमा लाग्ने घोषणा गरिएको छ।


