काठमाडौँ- दोहोरी कलाकार शर्मिला श्रेष्ठ र इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले एकअर्काविरुद्ध दायर गरेका मुद्दा फिर्ता लिएका छन्।
कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै श्रेष्ठले गत १४ फागुनमा कँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन्।
शर्मिलाले कँडेलसँग सहमति नगरी मंगलबार मुद्दा फिर्ता लिएकी थिइन्। सामाजिक सञ्जालमा ट्रोलको शिकार भएपछि उनले कँडेलविरुद्धको मुद्दा फिर्ता लिएको बताइएको छ।
कँडेलले आफूलाई गलत नियतका म्यासेजहरू गरेको तथा कोठामा जान खोजेको आरोप शर्मिलाले लगाएकी थिइन्।
कँडेलले पनि इन्द्रेणीबाट निकालिएका शर्मिलासहित पाँच कलाकारहरूले आफ्नो चरित्रहत्या गरेको भन्दै अदालतमा मानहानीको मुद्दा हालेका थिए।
शर्मिलाबाहेकका चार कलाकारले यसअघि नै कँडेलसँग समझदारी गरेका छन्। शर्मिलाले मुद्दा फिर्ता लिएपछि कँडेलले पनि मानहानीको मुद्दा फिर्ता लिएका हुन्।


