काठमाडौँ- शुक्रबार देशभरका हलमा चार फिल्मको प्रदर्शन सुरु भएको छ। फिल्लमहरू ‘नाई नभन्नु ल-६’, ‘प्रसाद-२’, ‘कैदीको पत्र’ र ‘पासाङ इन द स्याडो अफ एभरेस्ट’ एकसाथ प्रदर्शनमा आएका हुन्।
विकास आचार्यको निर्देशन भएको फिल्म ‘नाई नभन्नु ल-६’ मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी र अर्थव उपे्रति लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मको कथा निर्देशन आचार्यसँगै सामीप्य तिमल्सेना, अरुणदेव जोशीले तयार पारेका हुन्।
‘प्रसाद-२’ सुदर्शन थापाले निर्देशित गरेका हुन्। दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’को सिक्वेल हो। फिल्ममा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, कमलमणी नेपाल र महेश त्रिपाठीलगायतको भूमिका मुख्य छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।
सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ फिल्मको छायांकन स्कटल्यान्डमा गरिएको हो। दिल घले, नानी बैराग, कैलास विश्वकर्मा र हिरालाल जोशी यस फिल्मका निर्माता हुन्। यस फिल्ममा कुनाल र म्याडिसनसँगै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा र मनिष श्रेष्ठ लगायतमा कलाकारहरुको मुख्य भूमिका रहेको छ।
फिल्म ‘कैदीको पत्र’ले मल्टिप्लेक्स हलमा एक शो दिएको छैन। यो फिल्म सिंगल थिएटरमा प्रदर्शन भइरहेको छ।
प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पामा आधारित डकुमेन्ट्री फिल्म ‘पासाङ इन द स्याडो अफ एभरेस्ट’ देशका हलमा प्रदर्शन भइरहेको छ। ७२ मिनेट लामो फिचर फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन्।
पासाङ ल्हामु शेर्पाको कथामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी लगाएर चलचित्र तयार पारेका हुन्। नेपाली समाजमा आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रुपान्तरण गर्ने सन्देश यस चलचित्रले दिएको छ।


