काठमाडौँ- काठमाडौँमा यही जेठ १६ गतेदेखि जारी ‘२१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ सम्पन्न भएको छ। इटालियन निर्देशक ब्रान्डो क्विलिची निर्देशित ‘द टाइगर्स नेस्ट’ को एसिया प्रदर्शनी (प्रिमियर) सँगै सुरू भएको महोत्सवमा २२ देशका ६० चलचित्र प्रदर्शन गरिएको अध्यक्ष रम्यता लिम्बूले जानकारी दिए।
‘परिवर्तको प्रतिध्वनि’ नारा दिइएको महोत्सव दुई दशक लामो यात्रामा दर्शक, विभिन्न डिजिटल प्लेटफर्मको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ–नयाँ परिवर्तनहरु आत्मसात गर्दै अघि बढेको उनले बताए।
उनले भने, ‘महोत्सवमा छनोट भएका विदेशी चलचित्रमार्फत विश्वव्यापी र नेपालीमार्फत हाम्रै समाजका मुद्दाहरु र कथाशैलीबारे जानकारी तथा अनुभव एकआपसमा साटिएको विश्वास छ। नेपाली कला संस्कृतिलाई विश्वअवसरमा पु¥याउने माध्यम चलचित्र हो र किम्फले त्यो अवसर प्रदान गरेको छ।’
महोत्सवमा ‘नेपाली पानारोमा’ अन्तर्गत चलचित्रतर्फ विशेष उल्लेख (स्पेसल मेन्सन्स) मा ‘द मोङ्क एन्ड द रेबेल’ र ‘हावाम्यान’ तथा नियमिततर्फ ‘दुविधा’ र ‘नेपाली फिक्सन’ विजेता घोषित भए। यस्तै, वृतचित्रतर्फ विशेष उल्लेखमा ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ तथा नियमिततर्फ ‘धेय ड्रिम्स’ विजेता घोषित भए।
यस्तै, ‘इन्टरनेसनल सर्ट फिक्सन’ अन्तर्गत विशेष उल्लेखमा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ तथा नियमिततर्फ ‘एड्जस्टेमन्ट’ विजेता घोषित भए। ‘इन्टरनेसनल फिचर फिक्सन’ अन्तर्गत ‘अ चाइल्डलेस भिल्लेज’, ‘इन्टरनेसनल सर्ट डकुमेन्ट्री’अन्तर्गत विशेष उल्लेखमा ‘इटर्नल फ्लेम’ र ‘फरवार्ड’ तथा नियमिततर्फ ‘क्लाइम्बिङ फर गोल्ड’ विजेता घोषित भए।
‘फिचर डकुमेन्ट्री’तर्फ विशेष उल्लेखमा ‘इन टु द हार्ट अफ माउन्टेन’, ‘यम्नुस्का: द ¥याग्ड एज’, ‘क्विनडम’ र ‘अगेन्स्ट द टाइड’ सँगै नियमिततर्फ ‘रिओ रोजो’ विजेता घोषित हुँदा ‘अडियन्स च्वाइस अवार्ड’ भने ‘म अलप हुन चाहन्छु’ ले जित्न सफल रह्यो।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट ‘फिचर वृत्तचित्र’ लाई एक हजार पाँच सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट ‘फिचर कथानक’लाई एक हजार पाँच सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार समेत प्रदान गरियो।
‘नेपाल पानोरमा’ अन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमश : एक लाख प्राप्त प्रदान गरियो। दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको ‘अडियन्स च्वाइस अवार्ड’ प्राप्त ग¥यो।
निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) निर्णायक मण्डलको रुपमा रहेको महोत्सवमा ‘माउन्टेन्स म्याटर: अ कल फ्रम द हिमालयज’ र ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा सामूहिक छलफलको आयोजना गरिएको थियो।
महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैङ्गिकतालगायत विविधताले भरिएका चलचित्र तथा वृतचित्र सहभागी थिए। महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि २० गतेसम्म सञ्चालन भएको थियो।


