काठमाडौँ- डकुमेन्ट्री सर्ट फिल्म लापत्ता सन्तानको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।
रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको विषयवस्तुको खोजी गरेको छ। केही दिनपछि यसको टिजर सार्वजनिक गर्ने तयारी छ।
पोस्टरमा मुख्य कलाकार रश्मी भट्ट, ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, सविना राउत, निलम भट्ट, मनीष पी निरौलालगायतका कलाकारलाई देखाएको छ।
फिल्मको ट्यागलाइनले आफ्ना हराएका छोराछोरीलाई खोज्ने अभिभावकहरूको हृदयविदारक कथालाई हाइलाइट गरेको झल्को दिए पनि निर्माण टिमले फिल्मको कथा भने सार्वजनिक गरेको छैन। यद्यपि, यस प्रोजेक्टमा केही गोप्य छ भन्ने संकेत पोस्टरबाट प्राप्त गर्न सकिन्छ।
रामजी ज्ञवालीले केही वर्षयता डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म र म्युजिक भिडियो निर्माण गर्दै आएका छन्।
उनको पटकथा र निर्देशनमा केही समयअघि रित्तो गाउँ डकुमेन्ट्री सर्ट फिल्म बनेको थियो। यसलाई त्रिभुवन विश्वविद्यालयले रिसर्च गरेको थियो।
रित्तो गाउँका लागि विशेष शो र फेस्टिभलतिर टार्गेट गरिएकाले अहिले युट्युबमा भने सार्वजनिक नगरिएको ज्ञवालीले बताए।
यसअघि ज्ञवालीले डार्क मुन, एक लभर, आराध्या, हनिमुनजस्ता सर्ट फिल्म निर्माण गरिसकेका छन्।



