काठमाडौँ– अजय देवगन स्टारर फिल्म ‘मैदान’ अप्रिलमा बक्स अफिसमा असफल भयो। यो वर्ष निर्माता बोनी कपूरले घाटा मात्र व्यहोरेनन्। कानुनी झमेला समेत झेल्नुपर्यो।
एक सप्लायरले बोनीलाई आफूबाट सामान खरिद गरेको तर भुक्तानी नगरेको आरोप लगाए। सप्लायरले बक्यौता नतिरेको भन्दै बोनीविरुद्ध मुद्दा दायर गरेका थिए। सप्लायरले बोनीलाई दुई वर्षदेखि एक करोड रुपैयाँ नतिरेको आरोप लगाएका थिए।
अन्ततः अदालतले फिल्म निर्मातालाई ९६ लाख रुपैयाँ तिर्न आदेश दिएको छ। अघिल्लो पटक अभिनेता प्रभासमाथि टिप्पणी गरेका अभिनेता अरशद वारसीले पनि बोनीमाथि निशाना लगाएका छन्।
अरशदले बोनीको प्रोडक्सन हाउसले आफूलाई धोका दिएको दाबी गरेका छन्।
उनले श्रीदेवी र अनिल कपूर स्टारर फिल्म ‘रूप की रानी चोरों का राजा’ (१९९३) मा कोरियोग्राफरको रूपमा काम गरेको खुलासा गरे। अरशदले आफूले कोरियोग्राफ गर्न चाहेको गीत पूरा हुन ४ दिन लाग्ने भएको र त्यसबेला उनको भाडा १ लाख रुपैयाँ रहेको निर्मातालाई बताए।
निर्माताले ३ दिनमा सुटिङ पूरा गर्न आग्रह गरे। यो चुनौती थियो तर अरशदले कडा मेहनत गरे। ३ दिनमा सुटिङ पूरा गरे। तर, अरशद चेक लिन गएपछि उनले ७५ हजार मात्रै पाए। जब अरशदले निर्धारित शुल्क भन्दा कम पारिश्रमिक किन दिइयो भनेर सोधे। उनलाई ४ दिनको लागि १ लाख भारु तोकिएको जवाफ मिल्यो।
प्रोडक्सन हाउसका ती व्यक्तिले अरशदलाई एक दिन अघि काम सकेका कारण २५ हजार पारिश्रमिक कम दिइएको बताए।


