काठमाडौँ– ‘निस्किहाल्। यिनीहरूले गर्दा सहर गन्हाइसक्यो,’ सुकुम्बासी वस्तीका मानिसलाई एक प्रहरी भन्छ।
खोला किनारको सुकुम्बासी वस्तीमा जीवनको सपना बुनिरहेकी एक पात्र आफूहरूमाथि सरकारले गरेको दमनविरुद्धको उच्छ्वास निकाल्छे, ‘सरकारले हेप्न सक्ने भनेको हामी जस्तो गरिबलाई हो। धनीलाई त कसले के गर्न सक्छ र?’
राज्यशक्तिले कमजोर नागरिकहरूमाथि कसरी दमन गर्छ, कसरी उनीहरू राज्यशक्तिविरुद्ध लड्न तयार हुन्छन्? यो झलक बिहीबार सार्वजनिक भएको ‘आँखा’को टिजरले १ मिनेट ३७ सेकेन्डको भिडिओमार्फत् भनेको छ।
सरकार र सुकुम्वासीहरू बीचको द्वन्द्वको कथा टिजरबाट महसुस गर्न सकिन्छ। काठमाडौँ महानगरले थापाथलीस्थित खोला किनारमा रहेको टहराहरू भत्काउने र सुकुम्बासीहरूलाई ‘उठिवास’ लगाउन पटक पटक प्रयत्न गरिरह्यो।
उनीहरूलाई सबैभन्दा ठूलो चुनौती नै राज्यको आतङ्कसँग भयो। काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा यही प्रकृतिको समस्या सुकुम्बासीहरू भोगिरहेका छन्। तर राज्यले उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्नुको साटो ‘अनागरिक’ व्यवहार गरिरहेको छ।
सुकुम्बासीहरूले खोला किनारमा टहरोभित्र काटिरहेको दु:ख पनि टिजरमा देख्न सकिन्छ। जोन योञ्जनले निर्देशन गरेको फिल्म ‘आँखा’ आगामी असोज ११बाट प्रदर्शनमा आउँदैछ। फिल्मको प्रमुख पात्रमा अभिनेत्री अस्मिता लामिछाने र अभिनेता आरके मेहता छन्।
परिचित अनुहारहरू
फिल्ममा चर्चित अनुहारहरूका चाखलाग्दो चरित्र देख्न सकिन्छ।
लामो समय ठूलो पर्दाबाट टाढिएकी अभिनेत्री निशा अधिकारी ‘म’पछि ‘आँखा’मा महत्वपूर्ण भूमिकामा देखिँदैछिन्। ‘म’ले निशाको कमब्याकलाई फितलो बनाइदियो।
निशाको अबको निशाना ‘आँखा’मा छ। पछिल्लो समय ‘गाउँ आएको बाटो’मा सशक्त अभिनय गरेर लोकप्रियता बढाइरहेकी अभिनेत्री पशुपति राई पनि ‘आँखा’मा महत्वपूर्ण भूमिकामा छिन्। ‘गाउँ आएको बाटो’मा पशुपतिको छोरा बनेका प्रसन्न राई पनि ‘आँखा’भित्रका ‘नानी’ हुन्। ‘मनसरा’मा दर्शकको मन जितेका प्रविन खतिवडा पनि ‘आँखा’भित्र छन्।
त्यसैगरी बुद्धि तामाङ, रविन्द्र झा, विजय बराल, राजन खतिवडा, अभय बराल, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन र सरोज खनाल पनि फिल्ममा महत्वपूर्ण पात्रका रुपमा छन्।
विजय बरालको अलग अनुहार
प्राय: फिल्ममा विजयको अलग अनुहार नै देखिन्न भन्ने दर्शकहरूको गुनासो हुन्छ। पछिल्लो समय विजयले त्यो मान्यता भत्काउँदै गएका पनि छन्।

‘आँखा’को टिजरमा विजयको पृथक् चरित्र दर्शकहरूको लागि खास लाग्न सक्छ। उनले मानसिक सन्तुलन गुमाएको व्यक्तिको चरित्र निर्वाह गरेको देखिन्छ। खोला किनारमा भाँचिएको कुर्सी काँधमा बोकेर, टाउको बाल्टीले छोपर, हातमा बोतल बोकेर पात्र हिँडिरहेको छ।
र खोलाको बीचमा आगो लगाएर एउटा अर्धनग्न व्यक्ति चिच्याइरहेको छ। त्यो विजय हुन्। विजयको यो अनौठो भूमिका दर्शकको लागि खास हुन सक्छ।
‘आँखा’लाई आलोक शुक्लाले खिचेका छन् भने कृष्ण भण्डारी र निर्देशक योञ्जनले सम्पादन गरेका छन्।
फिल्ममा किशोर आचार्यले साउण्ड डिजाइन र आरिजिनल स्कोर गङ्गा थापाले गरेका छन्।
