काठमाडौँ– बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन्। निर्देशक मीन भामको नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियर शोमा सहभागी हुन उनी काठमाडौं आइपुगेका हुन्।
उनीसँगै निर्देशक अनुराग कश्यपसमेत नेपालमा छन्।
फिल्म साम्बाला ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरामा निर्माण भएको हो। यसअघि भामले फिल्म ‘कालोपोथी’ निर्देशन गरेका थिए।
आइतबार काठमाडौँमा ‘शाम्बाला’को प्रिमियर शो गरिँदै छ। बर्लिन र लोकार्नो फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको ‘शाम्बाला’ भदौ २८ बाट नेपालमा रिलिज हुँदैछ।
फिल्मले बहुपतिप्रथाको कथा पेस गरेको छ। एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामिक वैवाहिक सम्बन्धमा रहेकी पेमाको कथा फिल्ममा उतारिएको छ।
नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ। झण्डै १४ करोड रुपैयाँ बजेट रहेको यो फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन्।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।
ट्रेलर


