काठमाडौं– निश्चल बस्नेत र स्वस्तिमा खड्काले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ आजबाट प्रदर्शनमा आउँदैछ।
आजबाट दशैं सुरु हुने भएकाले निर्माण टिमले घटस्थापनाको दिन फिल्म रिलिज गर्ने निर्णय गरेको थियो। तर आजबाट काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा भएका वर्षाका कारण फिल्म प्रभावित बनेको छ।
फिल्मले ३ सय ३५ भन्दा धेरै शो पाएको भनिए पनि काठमाडौँ उपत्यकाका क्युएफएक्स हलहरूमा बुकिङ सङ्ख्या भने अपेक्षा गरिएको भन्दा निकै कम छ। कुनैमा भने अहिलेसम्म शोमा भने एउटा पनि बुकिङ छैन। तुलनात्मक हिसाबमा सिभिल मलमा केही सिट अकुपेन्सी देखिन्छ।
फिल्ममा स्वस्तिमा र निश्चलको मुख्य भूमिका छ। फिल्मलाई सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन्। फिल्ममा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ।


