काठमाडौँ– अक्षय कुमार प्रायः आफ्नो कमाइको केही हिस्सा दानमा खर्चिने कलाकारमा पर्छन्। हालै, उत्तर प्रदेशको अयोध्यामा बाँदरको संरक्षणका लागि अक्षयले आर्थिक सहयोग गरेका छन्।
उनले बाँदरहरूको संरक्षणका लागि १ करोड रुपैयाँ दान दिएको बलिउड सञ्चारमाध्यमले जनाएका छन्।
यो दान उनले आफ्ना बा आमा र ससुर राजेश खन्नाको नाममा दिएका छन्। सामाजिक सञ्जालमा अक्षयको यो कामको प्रशंसा भइरहेको छ।
अयोध्यामा यो वर्ष राम मन्दिरको प्राण प्रतिष्ठापछि पहिलो पटक दीपावली मनाइने भएको हो। यसका लागि, अयोध्यामा बाँदरको खान-पानको लागि ‘अजंनेया’ नामको ट्रस्टले काम गरिरहेको छ।
ट्रस्टका प्रमुख जगतगुरु राघवाचार्यले अक्षयलाई यस अभियानमा सामेल हुन अनुरोध गरेका थिए। ट्रस्टका सदस्यहरूले अक्षय कुमारको यो कदमको प्रशंसा गरेका छन्।
राम मन्दिरको निर्माणपछि अयोध्यामा बाँदरको संख्यामा धेरै वृद्धि भएको छ। अक्षयको यो दान उनीहरूको हेरचाहका लागि सहयोगी हुनेछ।


