काठमाडौँ – आउँदो शुक्रबारदेखि नेपाली चलचित्र ‘बम बहादुर’ प्रदर्शन हुने भएको छ।
भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए।
उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोहअवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ।
‘चलचित्रको योजना गरिएका विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ। चलचित्रको मुख्य पात्र बमबहादुरको सङ्घर्षमय जीवनको कथा हो। कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ। सोही कारण हाम्रो चलचित्रको प्रचार दर्शकले गर्नेमा विश्वस्त छौँ’, निर्देशक राईले भने।
चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री अनिशा रसाइली, अजय प्रधान, प्रशान्त राई, शान्तिला तामाङ, बाल कलाकार वशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतको अभिनय रहेको छ। अभिनेता मल्लले यस चलचित्रलाई हेर्दा दर्शकले आफ्नो कथा पाउने बताए।
मल्लले भने, ‘यो चलचित्रसँग जोडिनुका कारण नै कथा हो। यो सुनेपछि मैले यो भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको थियो। अहिले प्राप्त प्रतिक्रियाले मलाई उत्साहित बनाएको छ। यो एउटा नेपालीले थाहा पाउनुपर्ने कथा हो जस्तो लागेको छ।’
‘बिष्ट ब्रदर्स फिल्म्स’ प्रालीमार्फत यस चलचित्र ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले निर्माण गरेका हुन्। यसमा निर्देशक राई र रूपेश तामाङले कथा र पटकथा, सुजोयकुमार घोष ‘मुन्ना’ ले छायांकन र ज्ञान गुरूङले सम्पादन गरेका छन्।


