काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले इन्टरनेट सेवा अवरुद्ध भएको दुई घण्टामा पनि सपोर्ट कर्मचारी नपुगे क्षतिपूर्ति दिने घोषणा गरेको छ। देशभर करिब १७० ‘सपोर्ट जोन स्थापना गरेको कम्पनीले यस्तो घोषणा गरेको हो।
सबै क्षेत्रमा ग्राहकको इन्टरनेटसम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार काठमाडौँ उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन्।
दुई घण्टाभित्र पनि कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवले बताए।
‘हामी ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध छौँ,’ उनी भन्छन्, ‘यदि केही गरी हाम्रा फिल्ड स्टाफ दुई घण्टाभन्दा ५ मिनेट मात्रै ढिलो पुगे भने पनि ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेका छौँ।’


