काठमाडौँ- दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफमा पुगेको छ।
गएराति भएको खेलमा कुनै पनि विकेट नगुमाई दिल्ली पराजित गरेपछि गुजरातले प्लेअफमा स्थान बनाएको हो।
२०० रनको लक्ष्य ओपनरद्वय साई सुदर्शन र क्याप्टेनसमेत रहेका शुभमन गिलले नै पूरा गरी गुजरातलाई जिताए।
सुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्का हानेर १०८ रन बनाएका थिए। कप्तान गिलले ५३ बल खेल्दा ३ चौका र ७ छक्का हानेर ९३ रन बनाए।
पहिले ब्याटिङ गरेको दिल्लीका ओपनर केएल राहुलले ६५ बलमा १४ चौका र ६ छक्का हानेर नटआउट रहँदै ११२ रन बनाएका थिए।
अभिषेक पोरेलले ३०, कप्तान अक्षर पटेलले २५ र ट्रिस्टन स्टब्सले २१ रन बनाएका थिए।
बलिङतर्फ गुजरातका अर्शद खान, प्रशिध कृष्ण र साई किशोरले एक/एक विकेट लिएका थिए।
जितसँगै १८ अंकका साथ गुजरात शीर्ष स्थानमा छ भने दिल्ली पाँचौं स्थानमा छ।
गुजरातसँगै, बेंग्लुरू र पन्जाब प्लेअफमा छन्।
मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्समध्ये एक टिम प्लेअफमा पुग्नेछ।
मुम्बई, दिल्ली र कोलकाताले दुई खेल खेल्न बाँकी हुँदा लखनऊले तीन खेल खेल्न बाँकी छ।


