अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन्। मंगलवार ट्रम्पले जेलेन्स्कीपछि पुटिनसँग दुई घण्टा लामो फोनवार्ता गरेका हुन्।
पुटिनसँगको कुराकानीमा रुस-युक्रेन युद्धविराम र त्यसका लागि वार्ता गर्ने विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जानकारी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियल पेजमा लेखेका छन्, ‘रुस-युक्रेनले युद्धविराम र युद्धको अन्त्यका लागि तत्काल वार्ता सुरु गर्नेछन्,’ उनले थपेका छन्, ‘त्यसका लागि सर्तहरू दुई पक्षबीच वार्ताद्वारा तय गरिनेछ।’
ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक भएको बताएका छन्। रुस र युक्रेन बसेर वार्ताका सर्त तय गर्नुपर्ने उनको भनाइ छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँगको फोनवार्तामा यो विषयमा कुराकानी भएको उनले पुटिनलाई सुनाएका थिए।
ट्रम्पले पुटिनसँगको कुराकानी पनि सकारात्मक रहेको बताएका छन्। पुटिनले पनि युक्रेनसँग शान्ति सम्झौतासम्बन्धी काम गर्न तयार रहेको ट्रम्पसँग बताएका थिए। यद्यपि युद्धविराम वा शान्ति सम्झौता तत्कालै हुन कठिन रहेको बीबीसी समाचारमा उल्लेख छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताको वातावरण तयार गर्ने कामबाट टाढा नजान अमेरिकालाई आग्रह गरेका थिए। जेलेन्स्कीले ट्रम्पसँगको एक्लाएक्लै कुराकानीपछि युक्रेन ‘पूर्ण र बिना शर्त युद्धविराम’को पक्षमा रहेको बताएका थिए।
युक्रेनसम्बन्धी कुनै पनि निर्णय आफ्नो देशको सहमतिबिना नगरियोस् भनी जेलेन्स्कीले ट्रम्पसँग भनेका थिए। जेलेन्स्कीले वार्तामा अमेरिकी र युरोपेली प्रतिनिधि पनि संलग्न हुनपर्ने माग राखेका छन्।
‘अमेरिका वार्ता र शान्तिको खोजीबाट टाढा नहुनु सबैका लागि महत्त्वपूर्ण छ भन्ने कुरा युक्रेनले राखेको छ,’ ह्वाइटहाउसको एक कार्यक्रममा बोल्दै ट्रम्पले भनेका छन्, ‘अमेरिका रुस र युक्रेनबीच वार्ता गराउने भूमिकाबाट पछि हट्नेछैन।’
दुवै देशलाई वार्तामा बसाउने भूमिकाबाट अमेरिका विचलित भएको भन्ने आरोपलाई उनले अस्वीकार गरे। पछिल्ला दिनमा ट्रम्पले मस्को र किभ शान्तिवार्ताका विषयमा निराश हुँदै गएकाले अमेरिकाले वार्ता गराउने भूमिकाबाट पछि हट्न सक्ने चेतावनी दिन थालेका थिए। पुटिन युद्धबाट दिक्क भएको र यसलाई अन्त्य गर्न चाहेको ट्रम्पको दाबी छ।
यसैबीच, पुटिनले पनि ट्रम्पसँगको फोनवार्ता भएको पुष्टि गरेका छन्। उनले आफूहरूबीच ‘स्पष्ट र रचनात्मक’ कुराकानी भएको उल्लेख गरेका छन्। आफूहरूले युद्धविरामको सम्भावनाबारे कुरा भएको उनले स्वीकार गरेका छन्।
‘सम्भावित भविष्यको शान्तिका लागि रुस युक्रेनसँग काम गर्न तयार छ,’ उनले थपेका छन्, ‘सम्भावित शान्ति सम्झौताको समयरेखा, केही समयका लागि सम्भावित युद्धविरामलगायतका शर्ताहरूमा समझदारीलगायतका विषयले यसलाई निर्धारण गर्नेछ।’
रुसी राष्ट्रपतिका निकट युरी उशाकोभले युद्धविरामको समयसीमाबारे छलफल नभएको उल्लेख गरेका छन्। यद्यपि ट्रम्पले यथाशीघ्र कुनै न कुनै सम्झौतामा पुग्न आग्रह गरेको बताएका छन्।
‘राष्ट्रपति पुटिनसँगको फोनवार्ता लगत्तै मैले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, युरोपेली कमिसनका प्रेसिडेन्ड उर्सुला भोन डेर लेयन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबलाई मसँगको फोनवार्तामा यसबारे जानकारी गराएको छु,’ ट्रम्पले उल्लेख गरेका छन्। उनले पोपको प्रतिनिधित्व गर्दै भ्याटिकन वार्ता आयोजना गर्न इच्छुक रहेकोसमेत उल्लेख गरेका छन्।
‘युक्रेनमा युद्धविराम ल्याउन अथक प्रयास गरिरहनुभएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन चाहन्छु,’ युरोपेली कमिसनका प्रेसिडेन्ड उर्सुला भोन डेर लेयन, ‘अमेरिका संलग्न रहनु महत्त्वपूर्ण छ।’
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पोप लियोको सम्भावित शान्ति वार्ता आयोजना गर्ने प्रस्तावलाई अमेरिका र वार्तामा सहभागी अन्य नेताहरूले स्वागत गरेको र “सकारात्मक रूपमा मूल्याङ्कन गरिएको” बताएका थिए। हालै आएका पोपले सम्भावित शान्ति वार्ताका लागि भ्याटिकनलाई स्थानको रूपमा प्रस्ताव गरेका थिए। पुटिनले वार्ताका लागि टर्कीमा जेलेन्स्कीसँग आमने-सामने भेट्ने प्रस्तावलाई अस्वीकार गरे।
युक्रेनले हालैका दिनहरूमा रुसी हमलामा कम्तिमा १० जनाको मृत्यु भएको बताएको छ। रुसले पनि युक्रेनी ड्रोनहरू रोकेको बताएको छ। हालै रुस र युक्रेनले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक आमने-सामने वार्ता गरेका थिए। त्यस वार्तामा कैदी आदानप्रदानमा सहमति भएको थियो तर युद्धविरामका लागि कुनै प्रतिबद्धता आएन। ट्रम्पले पुटिन उपस्थित भएमा टर्कीमा हुने वार्तामा सहभागी हुन प्रस्ताव गरेका थिए, तर रुसी राष्ट्रपतिले जान अस्वीकार गरेका थिए।
ट्रम्पको भनाइ


