२०८३ कार्तिक ११ गते मङ्गलबार

बालेन-सुनीता ‘भिडन्त’को मारमा महानगर, के चुनावी वाचाअनुसार नै चल्दैछन् मेयर?

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, जेठ १७
balen

काठमाडौँ- सामाजिक सञ्जाल हेर्ने हो भने आज त्यस्तो कुनै दोस्रो नेपाली छैन, जसको बालेन शाहको जस्तो लोकप्रियता र क्रेज होस्। काठमाडौँ महानगरपालिकाका मेयर बालेनले सञ्जालतिर छिस्स मात्र केही मत राख्नुपर्छ, फेसबुकदेखि एक्स (ट्विटर)सम्म उनलाई लाइक गर्ने, सेयर गर्ने र उनको मतमा ‘हो’ मा ‘हो’ मिलाउने नेपालीको संख्या लाखौंलाख हुन्छ। उनीप्रति देखिएको, आशा, भरोसा र आकर्षण लोभलाग्दो प्रतित हुन्छ।

तर यति लोकप्रिय बालेन शाहले आफू महानगरको मेयर बनेपछि के-के काम गरे र के-कस्ता परिस्थितिसँग जुधे र अहिले जनप्रतिनिका रुपमा उनको अवस्था र पोजिसन के छ भने हामीले यो सामग्रीमा विवेचना गर्नेछौं।

कुनै बेला काठमाडौँ महानगरपालिकाभित्रका हरेक समस्या समाधान गर्न अग्रसर मेयर बालेन पछिल्लो समय एक हिसाबले रक्षात्मक जस्तो देखिएका छन्। प्रमुख प्रशासकीय अधिकृतका विषयमा देखिएको किचलो, महानगरका वडाध्यक्षहरूसँग बढ्दै गएको दूरी र कतिपय सचिवालयका कर्मचारीका कारण बालेन महानगरको एउटा भूमरीमा फसेजस्ता देखिन्छन्।

महानगर प्रमुखको कार्यभार सम्हालेका सुरुआती दिनमा बालेनलाई महानगरभित्र र बाहिर दुवै तिर ठूलो समर्थन थियो। निडर र निर्विवादित व्यक्तित्व बनाएका बालेनले जनताको चिन्ता र निराशालाई प्रतिध्वनित गरी मोहित बनाएका थिए। जनसरोकारका विषयमा बोली भन्दा पनि ‘एक्सन’मा नै उतार्ने काम थालेपछि उनको लोकप्रियता शिखरमै पुगेको थियो।

बालेनले चुनावका बेला २८ बुँदे प्रतिबद्धतापत्र बाँडेका थिए। उनले आफ्नो प्रतिबद्धतापत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने उल्लेख थियो।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवा सुरु गर्ने उनको प्रतिबद्धताअनुसार काम सुरु भएको पनि थियो। तर अहिले यो सेवा बन्दप्राय: छ। सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्र र बस स्टपहरूमा फल्चा निर्माण गर्ने उनको प्रतिबद्धताअनुसार काम भइरहेको छ। विभिन्न स्थानमा फल्चाहरू बनेका/बनिरहेका छन्।

काठमाडौं महानगरपालिका– ८ नवाली टोलस्थित ‘ग्वलः दे’ फल्चा। १९९० सालको भूकम्पपछि हराएको यो फल्चाले ९१ वर्षपछि पुनर्जीवन पाएको वडाध्यक्ष आशाराम संगत बताउँछन्। शिलापत्रमा फल्चा निर्माण भएको वर्ष नेपाल संवत् ८२० मा र पुनर्निर्माण भएको वर्ष ८७३ उल्लेख छ। यसअनुसार यो फल्चा ३२५ वर्ष पुरानो हो।

निजी विद्यालयमा मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा भए/नभएको विषयमा अडिट गरिने बालेनको चुनावी प्रतिबद्धता थियो। स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। ७० वर्षमाथिका वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी खटाउने योजना उनले अघि सारेका थिए। सार्वजनिक तथा महानगरीय यातायातलाई एउटै छातामा ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने योजना उनको थियो। काठमाडौँ महानगरपालिकाभित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप सञ्चालन गरिने पनि प्रतिबद्धतामा उल्लेख थियो। जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता जस्ता प्रमाणपत्र मात्रै होइन, वृद्धभत्ता पनि नागरिकलाई ‘होम डेलिभरी’ गरिने उनको योजना थियो। भ्रष्टाचारविरुद्धको विशेष फोर्स बनाउने, सरकारी प्रक्रिया अनुगमन गर्न स्थानीय जनतासँग महानगर प्रमुखको मासिक वडा बैठक गर्नेजस्ता प्रतिबद्धतासमेत गरेका थिए। तर यी काममा देखिने गरी कुनै प्रगति भएको छैन।

काठमाडौँ महानगरमा ठूला दलको विरासत ढाल्दै स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएको तेस्रो साता २०७९ जेठ ३० गते महानगर कार्यपालिकाको बैठक बसेको थियो। उक्त बैठकमा दुई वटा भौतिक पूर्वाधार एम्बुलेन्स राख्ने निर्णय भएको थियो। तर उनको यो योजना एक साता पनि टिक्न सकेन।

बालेनका चुनावी प्रतिबद्धता

केही समयअघिसम्म संघ सरकारसँग पनि जुध्न सक्ने एक मात्र मेयर भनेर चिनिने बालेन पछिल्लो समय महानगरभित्रकै कर्मचारी र जनप्रतिनिधिहरूसँग भिड्न थालेका छन्। प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरकै कर्मचारीको तलवभत्ता तीन महिनाभन्दा पनि बढी समयसम्म रोकियो। उपमेयर सुनीता डंगोलसहितका जनप्रतिनिधिको दलबलमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराएपछि मात्र महानगरका कर्मचारीले तलवभत्ता पाए। प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराउने काममा संलग्न भएका उपमेयर सुनीता डंगोल र वडाध्यक्षदेखि कर्मचारीहरूसम्मका गतिविधि बालेनलाई फिटिक्कै चित्त बुझेको छैन। यसले जनप्रतिनिधि र वडाध्यक्षहरूसँग बालेनको दूरी बढाइदिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई रोक्न बालेनले महानगरपालिका कार्यालयअघि खटाएका नगरप्रहरी। यसका बाबजुध कार्यालय पुगेर काम थालेको केही सातापछि आफूलाई कार्यालय प्रवेश रोक लगाउने कारण पेस गर्न गुरागाईँले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

लामो समयसम्म पनि नगर कार्यपालिकाको बैठक बस्न नसक्दा आगामी आवको बजेट प्रभावित हुन पुग्यो। यद्यपि उपमेयरसहितका जनप्रतिनिधिको दबाबपछि बालेनले सोमवारका लागि कार्यपालिका बैठक बोलाउन सहमत भएका छन्। अन्तर–सरकारी वित्त व्यिस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्षको असार १० गतेसम्ममा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गरिसक्नुपर्ने कानुनी बाध्यता छ। यो समय आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा बालेनमाथि कार्यपालिका बैठक चाँडो बोलाएर बजेट निर्माण प्रक्रियालाई गति दिन चौतर्फी दबाब परेपछि सोमवार कार्यपालिका बैठक बोलाइएको हो।

बालेन-वडाध्यक्षबीचको दूरी बढाउने पछिल्लो घटना समितिका संयोजकको हेरफेर पनि हो। जेठ १ गते मात्रै बालेनले सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरका ठाउँमा वीरेन्द्र प्रजापतिलाई ल्याए। सुशासन समितिका ख्यामराज तिवारीका ठाउँमा दलबहादुर कार्कीलाई जिम्मेवारी दिए। सम्पदा तथा पर्यटन समितिका आशामान संगतका ठाउँमा विनोद राजभण्डारीलाई ल्याए। विधायन समितिका मचाराजा महर्जनलाई हटाएर रोजिना श्रेष्ठलाई नियुक्त गरे। तर श्रेष्ठबाहेक तीनै जनाले आफूले पाएको जिम्मेवारीलाई अस्वीकार गरेका छन्। सम्पदा तथा पर्यटन समिति संयोजकको जिम्मेवारी अस्वीकार गरेका विनोद राजभण्डारीले प्रक्रिया नमिलेको कारण अस्वीकार गरेको बताउँदै आएका छन्। अचानक कार्यपालिकाका ४ समितिमा नयाँ संयोजक बनाएपछि द्वन्द्व अझै बढेको छ।

मेयर बालेन र उपमेयर सुनीता तथा वडाध्यहरूबीचको सम्बन्धमा दरार आउँदा त्यसको प्रत्यक्ष असर महानगरका विभिन्न कामहरुमाथि परिरहेको छ। बालेन-सुनीता द्वन्द्व बढेको र बैठक नै बस्ने वातावरण नबनेको भन्दै गत सोमबार उपमेयर सुनीता र वडाध्यक्षहरूले जतिसक्दो छिटो नगरकार्यापालिकाको बैठक राख्न दबाब दिए। उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका थिए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नैपर्ने व्यवस्था छ। कम्तिमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक ६ महिनासम्म बस्न नसकेपछि महानगरका कामकारबाही प्रभावित छन्।

के के गरे बालेनले?
बालेन महानगर प्रमुख निर्वाचित भएको भोलिपल्टै काठमाडौँको फोहोर थुप्रिने स्थान सिसडोल पुगेका थिए। शपथसमेत नलिई त्यहाँ पुगेका उनले स्थानीयहरूसँग संवाद गरेर चाँडै समाधान निकाल्ने आश्वासन दिएका थिए। तर उनले कार्यकाल सम्हालेको ३ वर्ष पुरा हुन लागिसक्दा पनि न काठमाडौँको फोहोर व्यवस्थापनमा ठोस काम भएको छ, न उनले भनेजस्तै फोहोरबाट ‘मोहोर’ नै बनाइएको छ। यता फोहोरको वर्गीकरण गरेर कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्न महानगरले सार्वजनिक आह्वान पनि गरेको थियो। बालेनले फोहोर नछुट्याए नउठाउनेसम्म भनेका थिए, तर यो पनि कुरामा मात्र सीमित भयो, कार्यान्वयन भएन।

चुनावताका ट्राफिकको समस्या बाटोमा लेन थपेर नहुने भन्दै उनले यसका लागि विद्यालय समय, कार्यालय समय र निजी कम्पनीको समय छुट्टाछुट्टै राख्नुपर्छ भनेका थिए। तर निर्वाचन पश्चात भने उनी ट्राफिकबारे चुइँक्क बालेका छैनन्। महानगरले पछिल्लो समय सवारीसाधनको प्रदूषण जाँचमा कडाइ गरेको छ। उनले फेसबुक स्ट्याटस लेखेर आफ्नो सवारीसाधनको प्रदूषण जाँच गराउन पटक पटक भनिरहेका छन्।

उता महानगरको मेयरमा उम्मेदवारी दिएपछि मत माग्दै सुकुम्बासी बस्ती पुगेका वेला बालेनले बस्ती हटाउनु नै विकासको सूचक नहुने बताएका थिए। तर निर्वाचित भएको केही समयमा नै उनी आँफैले थापाथलीस्थित सुकुम्बासीका घर भत्काउन डोजर लिएर पुगेका थिए। सुकुम्बासीहरू विरोधमा उत्रिएपछि नगर प्रहरी र डोजर एकसाथ परिचालन गरिएको थियो।

काठमाडौँ महानगरपालिकाले गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने हल्ला चलेसँगै विरोधमा उत्रिएका स्थानीय। पछि महानगर डोजर त्यहाँ पुगेपनि प्रहरीले सहयोग नगरेको भन्दै फिर्ता भएको थियो।

महानगर प्रमुख निर्वाचित भएपछि करिब ६ महिनासम्म बालेन सक्रिय भएर लागि परे। सडकका अतिक्रमण हटाउन उनी आफैँ पुगे। शुरूमै नक्साविपरीतका भवन भत्काउन निस्केका उनी टुकुचा उत्खननसम्मै डोजरसँग आफू पनि उभिए। तर तारन्तार अदालतको ‘स्टे अर्डर’ आदेश आएसँगै उनी सेलाए।

बालेनले महानगरभित्र शिक्षा, सम्पदा सुदृढीकरण, प्रत्येक वर्ष आयोजना हुने सीप मेला, घरपालुवा जनावरका लागि आवश्यक स्वास्थ्य सुरक्षा र जात्रा प्रवर्द्धन गर्न भूमिका खेल्दै आएका छन्। महानगरभित्रका हरेक संस्थागत विद्यालयलाई कक्षा ११ मा १० प्रतिशत छात्रवृत्ति अनिवार्य गराए। यस्तो छात्रवृत्तिका लागि महानगर आफैँले सामुदायिक विद्यालयका विद्यार्थीसँग परीक्षा लिएर छनोट गर्न थालेको छ। यसले सकारात्मक सन्देश प्रवाह भएको पनि छ।

गएको साउनमा न्यूरोडको फुटपाथ फराकिलो बनाउन बालेन आफै अघि सरे। यस क्रममा सडक विभागसँग विवाद भएपछि यो मुद्दा अदालत पुगेको थियो। पाटन उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडकपेटी फराकिलो बनाइएको छ।

फराकिलो बनाइएको न्युरोड फुटपाथ।

त्यस्तै, गएको जेठ १४ गते काठमाडौँ महानगरको बाल उद्धार कार्यदलको टोलीले नेपाल प्रहरी र काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का जनप्रतिनिधिसँगको समन्वयमा घरेलु हिंसामा परेकी एक नाबालिकाको उद्धार गरेको थियो। एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट ती बालिकाको उद्धार गरिएको थियो।

त्यसैगरी, काठमाडौँ महानगरभित्र हुने आन्दोलनहरूमा फोहोर गर्ने दल र समूहलाई पनि जरिबाना गर्न थालिएको छ। महानगरले जरिबाना थालेपछि आन्दोलन गर्ने दल र समूहहरू जरिबानाको डरले सडक र आसपास सफा गर्न थालेका छन्। गत चैत अन्तिम र वैशाखमा भएको शिक्षक आन्दोलनमा पनि हरेक दिन स्वयंसेवी समूह नै बनाएर शिक्षक महासंघले सरसफाइ गरेको थियो।

शहरको सौन्दर्यीकरणमा पनि महानगरले काम गरेको छ। विभिन्न स्थानमा परम्परागत फल्चा बनाउन थालिएको छ। पुरातात्त्विक सम्पदाको संरक्षण र पुनर्निर्माणमा पनि काम भइरहेको छ। तर आफ्नो कार्यकालको शुरूमै फुटपाथ खाली गराउन व्यवसायीमाथि ज्यादती गरेको कारण बालेनले आलोचना खेप्नु परिरहेको छ।

बालेनको सुरुवाती गतिसँग तुलना गर्दा पछिल्लो समयको काम गराई पर्याप्त नभएर औषत मात्र भएको देखिन्छ। तर उनी आफ्नोस्तरबाट कामका लागि जसरी मुलुकका शीर्ष राजनीतिक दलका नेताहरूसँग जुध्छन्, त्यो तारिफयोग्य भएको कुरा भएको आम नागरिकले बताउँदै आएका छन्।

स्थानीय तहले गर्नुपर्ने कामअन्तर्गत फुटपाथको स्तरोन्नति र पाटीपौवा निर्माणरपुनर्निर्माणमा बालेनले चासो देखाएर काम पनि गर्दै आएका छन्। अनधिकृत रूपमा कब्जा भएका संरचनाहरू भत्काइएको छ। यद्यपि, टुकुचा र अवैध तरिकाबाट पुरिएका खोलाहरूको अव्यवस्थित उत्खननमा स्थानीय जनाता आक्रोशित छन्।

काठमाडौं महानगर सुधारका लागि आशा गरिएका र लोकप्रिय मतसहित नगर प्रमुखको बागडोर सम्हाल्न पुगेका बालेनसँग काठमाडौंवासीको मात्र नभएर, देशभरका हरेक जनताले आशाको धरोहर मानेका छन्। उनीप्रति धेरैको विश्वास र अपेक्षा पनि छ।

मेयरको कुर्सीमा विराजमान भएपछि नागरिकसँग संवाद र सञ्चारमाध्यमसँग दोहोरो प्रतिक्रिया गर्नुभन्दा पनि फेसबुकमा पोस्ट गर्ने कुरालाई मात्र बालेनले प्राथमिकतामा राखेका छन्। पुराना र वर्षौंसम्म राज्यसत्ता चलाएका पार्टीका नेताहरूबाट आजित भएका जनताले बालेनबाट केही नयाँ काम र महानगर सुधारको अवधारणामा पूर्णतया समर्थन गरिरहेका छन्। सामाजिक सञ्जालका पोस्टमा प्रशस्त इंगेजमेन्ट आर्जन गर्न सफल बनिरहेका बालेनलाई पछिल्लो समय सञ्जालले नै विवादित पनि बनाएको छ।

हुन त बालेनले कार्यकालको झन्डै ३ वर्षमा धेरै राम्रा कामको सुरुआत पनि गरेका छन्। उनले लेख्ने गरेका आक्रामक स्टाट्सकै कारण उनले गरेका राम्रा कामलाई नजरअन्दाज गर्न भने सकिन्न। बालेनले ३ वर्षको कार्यकालमा शिक्षा क्षेत्रमा सुधार, सार्वजनिक शौचालयको व्यवस्थापन, फुटपाथ व्यवस्थापन र अव्यवस्थित पार्किङ नियन्त्रणलगायत सुरुआती कार्य प्रशंसनीय छन्। मेयर पदमा निर्वाचित भएसँगै देशका मूल पार्टीका नेताहरूमाथि खनिने गरेका बालेनले देशमा जताततै निराशा देखेर हतोत्साहित बन्न पुगेका जनताले बालेनका कडा अभिव्यक्तिलाई पनि सहजै साथ दिँदै आएका छन्। तर सञ्जालमार्फत आमजनता र युवाको ‘सेन्टिमेन्ट क्यास’ गरेर बालेन कडा–कडा स्टाट्स लेखेर सधैंभर चर्चा र लोकप्रिय बन्ने दाउमा छन्।

कसैलाई कुनै कुरामा चित्त नबुझ्दैमा सिंहदरवारमै आगो लगाइदिन्छु भन्ने छुट बालेन पनि पाउँदैनन्। काठमाडौं महानगर सुधार्ने भनेर आशा गरिएका र महानगरको प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाटै यस्तो अभिव्यक्ति अपेक्षित हुँदैनरु मेयर जस्तो गरिमामय पदमा बसेर राज्यको प्रमुख प्रशासनिक निकायमा आगो लगाइदिने अभिव्यक्ति दिँदै हिँड्छन् भने नागरिकले उनीबाट के सिक्नेरु ‘नयाँ र पुराना नेता सबै चोर हुन्’, ‘सिंहदरबार अरू पालिकामा सार्नुस्’, ‘कुनै कानुन र अदालत मान्दिनँ’लगायतका स्टाटसका कारण पनि विवाद खेप्नुपर्‍यो।

जुन संविधान र व्यवस्थालाई टेकेर बालेन मेयर बने, त्यही ‘संविधान मान्दिनँ, अदालत मान्दिनँ’ भन्दै जाने कुराले महानगरको मेयरको छविलाई शोभा दिँदैन। ट्राफिक प्रहरीले श्रीमतीलाई रोकेर सोधेकै कारण आक्रोशित बन्नुको साटो शिष्ट शैलीमा ‘हामीलाई त यति गाह्रो छ, जनतालाई कति गाह्रो होला?’ भन्ने कुरा लेखिदिएको भए उनले थप प्रशंसा बटुल्न सक्थे। सामाजिक सञ्जालमा उनले लेख्ने कतिपय स्टाटस पक्कै पनि अनुकरणीय छन्। तर त्यही अकाउन्टबाट ‘अन्टसन्ट’ पोस्ट गर्नु बालेनको कमजोरी हो। यसमा काठमाडौँ महानगरका मेयर जिम्मेवार बन्नु अपेक्षित छ।

प्रकाशित: २०८२ जेठ १७ गते शनिवार ०७:४२
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना