काठमाडौं– भनिन्छ, सिनेनगरीमा सम्बन्ध र संयोगको महत्वपूर्ण अर्थ हुन्छ। नेपाली फिल्मवृत्तका दुई लोकप्रिय अनुहार अनमोल केसी र पल शाहका लागि केही दिनअघि कतारमा आयोजित एक कार्यक्रम यस्तै संयोग प्रतित भएको छ जसले लामो समयसम्म एउटै व्यवसायिक उद्योगमा रहेर पनि पहिलो पटक सामिप्यता सृजना गरिदिएको छ।
‘कतार संयोग’पछि फिल्म नगरीमा यी दुई अभिनेताहरुको चर्चा–परिचर्चा भइरहेको छ। एयरपोर्टदेखि कार्यक्रमस्थलसम्म अनमोल र पलबीच देखिएको हार्दिकताबारे त्यहाँ सहभागी अरु कलाकारहरुले चर्चा गरिरहेका छन्। यतिसम्म कि, अनमोल र पलबीच आगामी दिनहरुमा सहकार्य हुनसक्ने अनुमानहरु पनि सतहमा आइरहेका छन्।
‘यो चाहिँ उहाँहरुबीच त्यहाँ देखिएको सामिप्यताको कारणले बाहिर आइरहेको खबर हुनसक्छ तर मलाई लाग्दैन, उनीहरु तत्कालै कुनै नयाँ प्रोजेक्टमा जोडिन्छन्’ अभिनेता अनमोल केसीसँग नजिक रहेका एक कलाकारले नेपाल क्लिक्ससँग भने, ‘फेरि यो कुरा असम्भव त होइन। तर उनीहरुको दुबैको व्यवहार नरम र हार्दिक खालको रहेकाले पनि उनीहरु एकअर्काप्रति सम्मानसहित स्वभाविक रुपमा प्रस्तुत भएका हुन्।’
कतारमा अनमोल र पलले एकअर्कालाई प्रशंसा मात्र गरेनन्, उनीहरुले पहिलो पटक एकअर्काका टेलिफोन नम्बरहरु पनि आदानप्रदान गरे। र, निरन्तर सम्पर्कमा रहने बाचा गरे।
नृत्यमा अलिक पारंगत मानिने पलले कतारको कार्यक्रमा नृत्य प्रस्तुत गरेका थिए। स्टेज प्रस्तुतीपछि उनले अनमोलको बधाइ खाए। रामी प्रोडक्सनले आयोजना गरेको ‘म्युजिकल हंगामा २०२५’ को लागि कतार पुगेका पल र अनमोल त्यहाँ आफ्ना प्रशंसकहरुसँग मजाले खुलेर फोटो खिचाइरहेका देखिन्थे। इदको अवसरमा आयोजित सो कार्यक्रममा सयौंको संख्यामा दर्शकहरुको उपस्थित थियो।
ल्म करिअरका हिसावले अनमोल र पलका पछिल्ला दिनहरु त्यति सुखद छैनन्। नाबालिक एक गायिकालाई बलात्कार गरेको आरोपमा जेलसमेत बसेका पल जेलबाट बाहिरिएपछि उनको क्रेज धरमराएको देखिन्छ। त्यस्तै, अनमोलका फिल्महरुले पछिल्ला दिनमा खासै अपेक्षाकृत व्यवसाय गर्न नसकेको कटु यथार्थ जगजाहेर छ। तर पनि व्यक्तिगत आनीवानी र व्यवहारमा भने यी दुबै अनुहारहरु नरम स्वभावका छन्। कलावृत्तमा यिनीहरुको आ–आफ्नै डिमाण्ड र भ्यालू छ।




