२०८३ कार्तिक १२ गते बुधबार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
rameshwar-shah-4

मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्र प्राकृतिक विपद्, सडक अवरोध, कमजोर पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा जाने नकारात्मक सन्देशका कारण चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। यद्यपि, निजी क्षेत्रका लगानीकर्ताले भने दीर्घकालीन सम्भावनालाई हेरेर होटल तथा पर्यटन पूर्वाधारमा लगानी विस्तार गरिरहेका छन्।

यस्तै चितवनको सौराहामा पाँचतारे स्तरको ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी ग्रुपका अध्यक्ष रामेश्वर साहले मधेश प्रदेशको राजधानी जनकपुरधाममा २ अर्ब रुपैयाँ लगानीमा १२३ कोठा भएको पाँचतारे डिलक्स होटल निर्माण अघि बढाएका छन्। जनकपुरमा पाँचतारे होटल बनाइरहेका व्यवसायी साहले मुक्तिनाथ र बर्दियामा समेत लक्जरी होटल विस्तार गर्ने तयारीमा छन्।

पर्यटन क्षेत्रमा पछिल्लो समय देखिएका चुनौती, जनकपुरमा ठूलो लगानी गर्नुको कारण, धार्मिक पर्यटनको सम्भावना, होटलको व्यवस्थापन, प्राथमिक सेयर (आईपीओ) निष्कासन, पर्यटकको बसाइ लम्ब्याउने उपाय, नाइट सफारी, स्काई–वाक तथा सरकारको नीतिगत भूमिकालगायतका विषयमा व्यवसायी शाहसँग नेपाल क्लिक्सका लागि सीता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश:

हाल तपाईंका व्यावसायिक योजनाहरू कसरी अगाडि बढिरहेका छन्? विशेषगरी सौराहा र जनकपुरको परियोजनाको अवस्था के छ?
हाम्रो व्यावसाय विस्तारको काम निरन्तर अगाडि बढिरहेको छ। चितवनको सौराहामा सञ्चालनमा रहेको पाँचतारे लक्जरी प्रोपर्टी ‘रोयल टुलिप’ नियमित सञ्चालनमै छ। त्यससँगै जनकपुरधाममा नयाँ पाँचतारे डिलक्स होटल निर्माणको कामलाई पनि तीव्रता दिएका छौँ।

जनकपुर परियोजनाको विस्तृत डिजाइन र आर्किटेक्चरल नक्सांकन सम्पन्न भइसकेको छ। अहिले बाहिरी पूर्वाधार तथा जग निर्माणको काम सुरु भएको छ। अर्थात्, डिजाइनको चरण पार गरेर हामी भौतिक निर्माणको चरणमा प्रवेश गरिसकेका छौँ।

पछिल्लो समय आएको अविरल वर्षा, रसुवाको बाढीपहिरो तथा राजमार्ग अवरोधले पर्यटन व्यवसायमा कस्तो असर पारेको छ?
यसपटक पर्यटन व्यवसायमा निकै ठूलो धक्का परेको छ। रसुवामा आएको प्रलय र त्यसपछि कृष्णभीरलगायतका सडकखण्डमा भएको अवरोधले पर्यटकको आवागमन प्रभावित भयो। यसलाई सामान्य समस्या मात्र भनेर हेर्न मिल्दैन, यो पर्यटन क्षेत्रका लागि ठूलो विपत्ति हो।

प्राकृतिक वा अन्य कुनै विपद् आउँदा सबैभन्दा पहिले र गहिरो असर पर्यटनमै पर्छ। चितवन तथा सौराहामा कुल पर्यटक आगमनको ठूलो हिस्सा आन्तरिक पर्यटकको छ। जब काठमाडौँ–चितवन जोड्ने मुख्य सडकहरू अवरुद्ध भएका छन्। आन्तरिक पर्यटकको आवागमन नै रोकियो।

सडक बन्द भएपछि मानिसहरू यात्रा गर्न डराए। यसले गर्दा होटलमा भएका बुकिङहरू धमाधम रद्द भए। पर्यटन व्यवसायमा बुकिङ रद्द हुनु भनेको प्रत्यक्ष आर्थिक क्षति हो।

अगस्ट र सेप्टेम्बरमा कर्पोरेट कार्यक्रम, सम्मेलन तथा माइस गतिविधि बढी हुने गर्छन्। त्यसको अवस्था कस्तो रह्यो?
अगस्ट र सेप्टेम्बर हाम्रो पर्यटन व्यवसायमा ‘माइस’ अर्थात् मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसनको मुख्य सिजन हो। बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र कर्पोरेट हाउसहरूले यही समयमा वार्षिक साधारणसभा, रणनीतिक भेला, उत्पादन सार्वजनिक तथा तालिम–गोष्ठी आयोजना गर्छन्।

यसअघि चितवनका ठूला होटलहरू यस्ता कर्पोरेट कार्यक्रमले भरिभराउ हुने गर्थे। तर, यसपटक सडक अवरोध र विपद्का कारण करिब ९० प्रतिशतभन्दा बढी माइस बुकिङ रद्द भए। ठूला कार्यक्रमहरू स्थगित वा रद्द हुँदा होटल व्यवसायमा ठूलो आर्थिक नोक्सानी भएको छ।

बाढीपहिरोका घटनाले अन्तर्राष्ट्रिय पर्यटन बजारमा कस्तो प्रभाव पारेको छ?
सबैभन्दा दुःखद पक्ष यही हो। बाढीपहिरोका दृश्य सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पुगेपछि नेपालको वास्तविक अवस्थाभन्दा निकै ठूलो समस्या भएको जस्तो सन्देश गयो। बाहिरबाट हेर्दा सिङ्गो नेपाल नै बाढीपहिरोले प्रभावित भएको जस्तो बुझाइ बन्न पुग्यो।

वास्तविकता त्यस्तो होइन। देशका सबै पर्यटकीय गन्तव्य प्रभावित भएका छैनन्। काठमाडौँ, पोखरा, चितवन, बर्दिया, लुम्बिनी तथा हिमालपारिका धेरै क्षेत्र सुरक्षित छन्। तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिएको नकारात्मक सन्देशले विदेशी पर्यटकलाई पनि प्रभावित पार्‍यो।

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। त्यसैले सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

अक्टोबर अन्तर्राष्ट्रिय पर्यटन आगमनको मुख्य सिजन हो। दुर्भाग्यवश, सिजनको ठीक अगाडि भएको विपद्का कारण व्यवसाय प्रभावित भएको छ।

नेपाली समाजको एउटा सकारात्मक पक्ष भनेको हामी संकटबाट छिट्टै उठ्न सक्छौँ। भूकम्प, कोभिड तथा अन्य विपद्बाट पनि हामी विस्तारै सामान्य अवस्थामा फर्कियौँ। यो समस्या पनि समयसँगै सामान्य होला। तर, यो वर्षको अक्टोबर सिजनमा भएको क्षति भने पूर्ण रूपमा पूर्ति गर्न कठिन छ।

हामीले यस वर्ष १८ देखि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका थियौँ। अहिलेको परिस्थितिमा १० लाख पर्यटक पुर्‍याउन पनि चुनौतीपूर्ण देखिन्छ।

नेपाल प्राकृतिक विपद्का दृष्टिले संवेदनशील देश हो। यस्तो अवस्थामा विदेशी पर्यटकलाई सुरक्षाको विश्वास कसरी दिलाउने?
हामी भूकम्पीय र भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा छौँ। यो वास्तविकता हो। हाम्रो कमजोरी भनेको विपद् आउँदा त्यसको सामना गर्ने तयारी, द्रुत उद्धार संयन्त्र र भरपर्दो सूचना प्रणाली पर्याप्त बलियो नहुनु हो।

पर्यटक नेपालमा सहानुभूति देखाउन आउँदैनन्। उनीहरू पैसा खर्च गरेर मानसिक शान्ति, मनोरञ्जन र सुरक्षित अनुभव लिन आउँछन्। त्यसैले विपद्का बेला पनि राज्य संयन्त्र चुस्त छ, सडक तथा हवाई कनेक्टिभिटी सुरक्षित छ र आपत्कालीन उद्धार प्रभावकारी छ भन्ने विश्वास दिलाउनुपर्छ।

पर्यटनको दिगो विकासका लागि विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय विश्वसनीयता निर्माणमा राज्यले गम्भीर काम गर्न आवश्यक छ।

बजार केही सुस्त रहेको अवस्थामा पनि जनकपुरमा करिब २ अर्ब रुपैयाँ लगानी गरेर पाँचतारे होटल निर्माण गर्न किन अघि बढ्नुभयो?
व्यवसायमा छोटो समयको उतारचढाव हेरेर दीर्घकालीन लगानी रोकिँदैन। नेपालको अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो। नेपालसँग प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र विविध भूगोल छ।

जनकपुरधाम केवल एउटा सहर होइन। यो माता जानकीको जन्मभूमि, भगवान् श्रीरामसँग जोडिएको पवित्र धार्मिक स्थल तथा मिथिला संस्कृतिको केन्द्र हो।

विश्वभर ठूलो संख्यामा हिन्दु र बौद्ध धर्मावलम्बी छन्। छिमेकी भारतमा मात्रै पनि ठूलो हिन्दु जनसंख्या छ। त्यसको सानो हिस्सा मात्रै जनकपुरमा ल्याउन सकियो भने पनि ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउने सकिन्छ। ती पर्यटकलाई जनकपुरमा बसाउने पूर्वाधार कहाँ छ? हामीले यही सम्भावना देखेर लगानी गरेका हौँ।

अहिले धेरै पर्यटक बिहान काठमाडौँबाट जनकपुर जान्छन्, जानकी मन्दिर दर्शन गर्छन् र बेलुका काठमाडौँ नै फर्किन्छन्। यसको प्रमुख कारण त्यहाँ उच्चस्तरीय आवास तथा आतिथ्य सुविधाको अभाव हो।

सामान्य होटलहरू छन्। तर, उच्च आय भएका पर्यटक, कर्पोरेट पाहुना तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आवश्यक पर्ने डिलक्स स्तरको सुविधा पर्याप्त छैन।

भारतबाहेक थाइल्यान्ड, इन्डोनेसिया तथा अन्य मुलुकबाट पनि हिन्दु तथा बौद्ध संस्कृति अध्ययन गर्न पर्यटक आउन सक्छन्। जनकपुरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिने सम्भावना छ।

जनकपुरमा निर्माण भइरहेको होटलको स्वरूप कस्तो हुनेछ?
‘मिथिला हस्पिटालिटी’ अन्तर्गत बन्ने होटल पाँचतारे डिलक्स स्तरको हुनेछ। कुल लगानी करिब २ अर्ब रुपैयाँ रहने अनुमान छ। होटलमा १२३ वटा आधुनिक डिलक्स कोठा हुनेछन्। दुईवटा प्रेसिडेन्सियल सुइट, दुईवटा एक्जिक्युटिभ सुइट, चार वटा जुनियर सुइट तथा अन्य लक्जरी कोठाहरू रहनेछन्।

त्यस्तै, करिब १ हजार जना क्षमताको ठूलो वैंक्वेट हल निर्माण गरिनेछ। जनकपुरमा वैवाहिक गन्तव्य (डेस्टिनेसन वेडिङ) को पनि ठूलो सम्भावना छ। भारतका उच्च वर्गका परिवार जनकपुरमा विवाह आयोजना गर्न इच्छुक हुन सक्छन्। तर अहिले पर्याप्त स्तरीय पूर्वाधार छैन। त्यसैले वैंक्वेट हलसँगै अन्य मिटिङ हल, क्यासिनो र वेलनेस सेन्टरसमेत निर्माण गर्ने योजना छ।

होटलको व्यवस्थापन स्थानीय हुन्छ कि रोयल टुलिप वा अन्य अन्तर्राष्ट्रिय ब्रान्डले गर्नेछ?
होटलको व्यवस्थापन स्थापित अन्तर्राष्ट्रिय चेन ब्रान्डमार्फत गर्ने योजना छ। विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डसँग अहिले मूल्यांकनको चरणमा छलफल भइरहेको छ।

ब्रान्ड छनोट गर्दा बजार, मूल्य संरचना र लगानीको प्रतिफल हेर्नुपर्छ। अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउँदा निर्माण तथा सञ्चालन लागत पनि फरक हुन्छ। त्यसैले जनकपुरको बजारअनुसार उपयुक्त ब्रान्ड छनोट गर्नेछौँ।

रोयल टुलिपको आईपीओ निष्कासनको तयारी कहाँ पुग्यो?
हाम्रो सौराहास्थित केटीएम हस्पिटालिटीको आईपीओ प्रक्रिया पाइपलाइनमा छ। नियामक निकायमा नेतृत्वसम्बन्धी विषयका कारण केही ढिलाइ भएको हो। हाम्रो तयारी भने पूरा छ। कम्पनीको जारी पुँजी ७७ करोड ५० लाख रुपैयाँ छ। त्यसमध्ये संस्थापकतर्फको पुँजी चुक्ता भइसकेको छ। बाँकी २० प्रतिशत अर्थात् १५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी छ।
यो आईपीओ प्रिमियममा नभई अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमै निष्कासन गर्ने योजना हो। नियामकबाट स्वीकृति पाएपछि प्रक्रिया अघि बढ्छ।

रोयल टुलिपको वित्तीय अवस्था कस्तो छ?
होटल व्यवसाय तत्काल नाफा कमाएर बाहिरिने व्यापार होइन। यो २०, ५० वा १०० वर्षसम्म सञ्चालन हुने दीर्घकालीन पूर्वाधार हो। सामान्यतया हामीले ६ देखि ८ वर्षमा लगानी फिर्ता हुने प्रक्षेपण गर्छौँ। व्यवहारमा भने १० देखि १२ वर्ष लाग्न सक्छ।

सौराहाकै उदाहरण हेर्न सकिन्छ। पहिले त्यहाँ कम बजेटका पर्यटक बढी आउँथे। स्तरीय पूर्वाधार निर्माण भएपछि उच्च आय भएका पर्यटक पनि आउन थालेका छन्। त्यसैले राम्रो पूर्वाधार निर्माण भयो भने गुणस्तरीय पर्यटक ल्याउन सकिन्छ।

जनकपुरपछि आगामी लगानीका गन्तव्य कुन हुन्?
हाम्रो प्राथमिकतामा मुक्तिनाथ क्षेत्र छ। मुक्तिनाथमा ठूलो सम्भावना देखेका छौँ। छोटो अवधिमै ठूलो संख्यामा पर्यटक त्यहाँ पुगिरहेका छन्। त्यहाँ जाने पाहुनाका लागि स्तरीय आवास सुविधा पर्याप्त छैन।

हामी मुक्तिनाथ क्षेत्रमा जग्गा खोजी तथा अध्ययन गरिरहेका छौँ। अवस्था सामान्य भएपछि थप अध्ययन गरेर परियोजनालाई अगाडि बढाउने योजना छ।

त्यस्तै बर्दियामा पनि ठूलो सम्भावना छ। चितवनलाई वन्यजन्तु र डेस्टिनेसन वेडिङसँग जोड्न सकिन्छ भने जनकपुरलाई धार्मिक तथा विवाह पर्यटनको केन्द्र बनाउन सकिन्छ। बर्दियालाई भने पूर्ण रूपमा प्रकृति र वन्यजन्तु पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

नेपालमा पर्यटक आए पनि उनीहरूको बसाइँ लामो हुन नसकेको गुनासो छ। यसको समाधान के हुन सक्छ?
पर्यटक नेपाल आएर मात्रै हुँदैन। उनीहरूले यहाँ बढी दिन बिताउन र खर्च गर्न सक्ने वातावरण बनाउनुपर्छ। त्यसका लागि नयाँ पर्यटन उत्पादन आवश्यक छ।

चितवनकै उदाहरण लिऔँ। चितवन राष्ट्रिय निकुञ्ज ठूलो क्षेत्रफलमा फैलिएको छ। त्यसको निश्चित क्षेत्रमा वातावरणीय अध्ययन र संरक्षणका मापदण्ड पालना गर्दै नाइट सफारी सञ्चालन गर्न सकिन्छ।

बेलुका निश्चित समयदेखि रातिसम्म विद्युतीय सवारीसाधन प्रयोग गरेर सुरक्षित रूपमा नाइट सफारी सञ्चालन गर्ने हो भने पर्यटकको बसाइ कम्तीमा एक रात थपिन सक्छ। यसबाट होटल व्यवसाय, सरकारको राजस्व र पर्यटकको अनुभव तीनै पक्षलाई फाइदा हुन्छ।

चितवनमै जंगलको माथिल्लो भागबाट हिँड्न मिल्ने ग्लास स्काई–वाक वा क्यानोपी ब्रिज निर्माण गर्न सकिन्छ। त्यसमा क्याफे वा भ्यु–पोइन्ट राख्न सकिन्छ।

पर्यटकले जंगल, चराचुरुङ्गी तथा वन्यजन्तुलाई माथिबाट अवलोकन गर्न सक्छन्। यसबाहेक व्यवस्थित वाकिङ ट्रेल, वाटर वल्र्ड, अन्तर्राष्ट्रियस्तरको गल्फ कोर्स तथा उच्च हिमाली क्षेत्रमा ध्यान र वेलनेस केन्द्र विकास गर्न सकिन्छ।

नेपालमा स्वास्थ्य पर्यटन र शैक्षिक पर्यटनको पनि ठूलो सम्भावना छ। यी सम्भावनालाई व्यवसायिक उत्पादनमा बदल्न राज्यको नीति र निजी क्षेत्रको लगानी दुवै आवश्यक छ।

होटल तथा पर्यटन उद्योगीले भोगिरहेको प्रमुख समस्या के के हुन्?
सबैभन्दा ठूलो समस्या झनझटिलो वातावरणीय प्रभाव मूल्यांकन ईआईए र प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया हो। नयाँ होटल खोल्न चाहने लगानीकर्ताले वातावरणीय प्रक्रिया पूरा गर्नमै लामो समय खर्च गर्नुपर्छ।

लगानीकर्ताले बैंकबाट ऋण लिएको हुन्छ, जग्गा किनेको हुन्छ। सरकारी प्रक्रिया लामो हुँदा दुई वर्षसम्म फाइल विभिन्न निकायमा घुम्न सक्छ। त्यतिबेला बैंकको ब्याज बढिरहेको हुन्छ र परियोजनाको लागत पनि बढ्छ।

मेरो सुझाव भनेको ईआईए र आईईईलाई स्पष्ट चेकलिस्टमा आधारित बनाउनुपर्छ। होटलको कोठा संख्या र क्षेत्रफलअनुसार ढल प्रशोधन, पानी प्रशोधन, फोहोर व्यवस्थापन, ध्वनि नियन्त्रणलगायतका मापदण्ड स्पष्ट तोक्नुपर्छ।

लगानीकर्ताले ती मापदण्ड पूरा गरेपछि सञ्चालनपूर्व अनुगमन गरेर अनुमति दिने व्यवस्था गर्न सकिन्छ। यसो भयो भने फाइल बोकेर सरकारी कार्यालय धाइरहनुपर्ने अवस्था अन्त्य हुन्छ।

अहिले हाम्रो एकद्वार प्रणाली धेरै हदसम्म कागज र भाषणमा सीमित छ। एउटा झ्यालबाट प्रवेश गरेपछि भित्र धेरै झ्याल र ढोका भेटिन्छन्।

लगानीकर्ताले स्थानीय तह, प्रदेश सरकार, वन, वातावरण, उद्योग, विद्युत्, खानेपानी तथा सडकसम्बन्धी विभिन्न निकायमा आफैँ धाउनुपर्ने अवस्था छ।

वास्तविक एकद्वार प्रणालीमा लगानीकर्ताले सरकारको एउटा आधिकारिक डेस्कमा परियोजना दर्ता गरेपछि बाँकी अन्तर–निकाय समन्वय राज्यले गर्नुपर्छ।

निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरेर होटल निर्माण गर्छ भने राज्यले सडक, बिजुली, ढल, सुरक्षा र अन्य आधारभूत पूर्वाधारमा सहजीकरण गर्नुपर्छ। राज्यले ‘तिमी लगानी गर, पूर्वाधार र सहजीकरण हामी गर्छौँ’ भन्ने सोच विकास गर्न आवश्यक छ।

अन्त्यमा, नेपालको पर्यटनको राम्रो भविष्य बनाउन तपाईंको सुझाव के छन्?
नेपालको पर्यटनको भविष्य निकै राम्रो छ। अहिलेको विपद्, सडक अवरोध वा आर्थिक मन्दीका कारण हामी निराश हुनु हुँदैन। सम्भावनालाई अवसरमा बदल्न हाम्रो काम गर्ने शैली परिवर्तन गर्नुपर्छ।

सबैभन्दा पहिलो प्राथमिकता ‘कनेक्टिभिटी’ हो। सडक तथा हवाई सञ्जाल भरपर्दो हुनुपर्छ। मुख्य पर्यटकीय सडकहरू बाह्रै महिना सुरक्षित बनाउनुपर्छ। विमानस्थलको विश्वसनीयता पनि बढाउनुपर्छ।

त्यसपछि प्रशासनिक झन्झट हटाएर लगानीमैत्री वातावरण बनाउनुपर्छ। निजी क्षेत्र जोखिम मोलेर जनकपुर, मुक्तिनाथ, बर्दिया र सौराहामा अर्बौं रुपैयाँ लगानी गर्न तयार छ। राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै पूर्वाधार र नीतिगत सहजीकरण गरिदिनुपर्छ।

नेपालसँग प्राकृतिक तथा सांस्कृतिक सम्पदाको कुनै कमी छैन। हामीले ती सम्पदालाई सही ढंगले विश्व बजारमा प्रस्तुत गर्न सक्यौँ भने पर्यटन नेपालको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ।

प्रकाशित: २०८३ कार्तिक १२ गते बुधबार ०५:३१
प्रतिक्रिया

थप समाचार

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो: थापा [अन्तर्वार्ता]

क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ। हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावना...

जलविद्युत्‌का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ: हितेन्द्र देव शाक्य [अन्तर्वार्ता]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत्‌ आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन...

‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत...

‘उत्तरी नाका अवरुद्ध हुँदा नेपाल–चीन व्यापार गम्भीर संकटमा, अर्बौंको लगानी जोखिममा’

हालै गएको सुख्खा पहिरोले केही कन्टेनर क्षतिग्रस्त भएका छन्। हामीले कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाएका छैनौं। कुनै पनि बेला थप पहिरोले कन्टेनर बगाउन सक्ने डर छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना