नेपाल–चीनबीचको स्थलमार्ग व्यापार अहिले गम्भीर संकटमा परेको छ। लगातारको वर्षा, बाढी र पहिरोका कारण उत्तरी नाकाबाट हुने व्यापार सन्तोषजनक छैन। विशेषगरी मुख्य व्यापारिक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द छ। यसले व्यवसायीको अर्बौंको लगानी जोखिममा पारेको छ भने राज्यको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पुर्याएको छ। यिनै विविध विषयमा केन्द्रित रहेर नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश–
तातोपानी नाकाको पछिल्लो वस्तुस्थिति के छ?
अरनिको राजमार्गअन्तर्गत डाक्लाङ र इको क्षेत्रमा गएको ठूलो पहिरोका कारण तातोपानी नाका गत असारदेखि नै प्रभावकारी रूपमा बन्द छ। त्यहाँबाट अहिले एक थोपा सामान पनि नेपाल भित्रिएको छैन। अर्बौं मूल्यका सामानहरू चीनतर्फ, सीमाक्षेत्रमा र भन्सार यार्डमा अलपत्र छन्। कतिपय सामान चीनकै भूभागमा छन् भने कतिपय नेपालतर्फका गोदाममा थन्किएका छन्।
तातोपानी नाका बन्द हुँदा रसुवागढी नाकामा कस्तो प्रभाव परेको छ?
तातोपानी नाका बन्द भएपछि आयातको ठूलो हिस्सा रसुवागढीतर्फ मोडिएको छ। यसले गर्दा रसुवामा अस्वाभाविक चाप बढेको छ। रसुवागढी पूर्ण रूपमा बन्द नभए पनि सडकको अवस्थाका कारण बेलाबेला अवरुद्ध हुने गरेको छ। चाप बढेपछि ढुवानी भाडा महँगिएको छ, सामान ल्याउन ढिलाइ भइरहेको छ र समग्र लजिस्टिक लागतमा वृद्धि भएको छ।
सीमा क्षेत्रमा भौतिक पूर्वाधार र सुरक्षाको अवस्था कस्तो छ?
तातोपानी क्षेत्रमा पर्याप्त पार्किङ र भण्डारण पूर्वाधारको ठूलो अभाव छ। पहिरोका कारण भन्सारको आईसीडी क्षेत्रसमेत जोखिममा परेको छ। हालै गएको सुख्खा पहिरोले केही कन्टेनर क्षतिग्रस्त भएका छन्। हामीले कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाएका छैनौं। कुनै पनि बेला थप पहिरोले कन्टेनर बगाउन सक्ने डर छ। हामीले जोखिमपूर्ण रूपमा स्थलगत निरीक्षण गर्दा स्थिति निकै जटिल पायौं।
चाडपर्व नजिकिँदै गर्दा नाका अवरुद्ध हुनुको असर बजार र उपभोक्तामा कस्तो पर्छ?
अहिले बाटोमा रोकिएका अधिकांश सामान दशैं, तिहार र तीज लक्षित फेसन सामग्रीहरू हुन्। दुई महिनादेखि सामान रोकिँदा व्यवसायीको लगानी ‘फ्रिज’ भएको छ। समयमा सामान बजारमा नपुगे व्यवसायीले ठूलो घाटा व्यहोर्नुपर्ने हुन्छ। अर्कोतर्फ, सामान ढिला आइपुग्दा डिटेन्सन, डेमरेज र अतिरिक्त ढुवानी खर्च थपिन्छ, जसको भार अन्ततः उपभोक्तामाथि नै पर्नेछ। यसले बजारमा सामग्रीको अभाव र मूल्यवृद्धि गराउने निश्चित छ।
यस्ता समस्याको दीर्घकालीन समाधानका लागि संघको माग के छ?
हामीले सरकारसँग सडक, भन्सार यार्ड, आइसिडी र पार्किङ जस्ता पूर्वाधार सुधार गर्न पटक–पटक माग गर्दै आएका छौं। साथै, केवल तीनवटा नाकामा मात्र निर्भर नभई वैकल्पिक नाकाहरू सञ्चालन गर्न आवश्यक छ। दोलखाको लामाबगर, गोरखा र हुम्ला क्षेत्रका नाका खोल्न जरुरी छ। एउटा नाका बन्द हुँदा सम्पूर्ण व्यापार नै ठप्प हुने अवस्था अन्त्य गर्न थप नाका सञ्चालन गर्नु अहिलेको आवश्यकता हो।
चीनले नेपाली वस्तुलाई सहुलियत दिएको भनिन्छ, तर निर्यात किन बढ्न सकेको छैन?
चीनले नेपालका ८ हजारभन्दा बढी वस्तुमा सहुलियत दिएको छ, जुन ठूलो अवसर हो। तर, हाम्रो उत्पादन क्षमता कमजोर छ। मासुजन्य वस्तु, सिट्रस फलफूल, कृषि उत्पादन, चिया र हस्तकलाको चीनमा ठूलो माग छ। तर हामीसँग अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशाला, गुणस्तरीय उत्पादन र निर्यातका लागि आवश्यक पूर्वाधारको अभाव छ। व्यापार सन्तुलन कायम गर्न हामीले उत्पादन क्षमता र निर्यात पूर्वाधार विस्तारमा विशेष ध्यान दिनैपर्छ।


