२०८३ असोज ३० गते शुक्रबार

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो: थापा [अन्तर्वार्ता]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
photo-3_494b77cc

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी र रोजगारी दिएका क्यासिनोहरू बन्द हुँदैछन्। नीतिगत अस्थिरता, बढ्दो प्रतिस्पर्धा र अनुभवी अपरेटरको अभावले व्यवसाय संकटमा परेको क्यासिनो क्षेत्रका जानकार अजय विक्रम थापा बताउँछन्।

लामो समयदेखि नेपाल र भारतको क्यासिनो क्षेत्रमा काम गरेका थापाका अनुसार स्थिर नीति, सुरक्षित लगानी र विदेशी ग्राहक लक्षित रणनीति बनाउन सके क्यासिनो पर्यटनबाट रोजगारी, विदेशी मुद्रा आर्जन र राजस्व बढाउन सकिन्छ।

प्रस्तुत छ, नेपालको क्यासिनो व्यवसायको अवस्था, चुनौती र सम्भावनाबारे मल्ल र र्‍याडिसन क्यासिनोका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) थापासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीको सम्पादित अंश..

नेपालमा अहिले क्यासिनो व्यवसायको अवस्था कस्तो देख्नुहुन्छ ?

अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो व्यवसायबारे लामो समयदेखि काम गरेका विशेषज्ञसँग सरकारले समन्वय गर्न आवश्यक छ।

नेपालमा क्यासिनोसम्बन्धी नियमावली पटक–पटक परिवर्तन भएका छन्। कहिले नयाँ नियमावली बनाउने, कहिले पुरानो हटाउने र फेरि अर्को व्यवस्था ल्याउने प्रवृत्तिले लगानीकर्ताको विश्वासमा असर गरेको छ। क्यासिनो सञ्चालनका लागि ठूलो लगानी आवश्यक हुन्छ। एउटा राम्रो क्यासिनो खोल्न डेढ अर्ब रुपैयाँसम्म लगानी लाग्न सक्छ। यस्तो अवस्थामा लगानीकर्ताले दीर्घकालीन नीति र स्थिर वातावरण खोज्छ।

त्यसैले राज्यले दीर्घकालीन सोचका साथ स्पष्ट र स्थिर नियम बनाउनुपर्छ। नियम बनाउँदा क्यासिनो व्यवसायमा लामो अनुभव भएका व्यक्तिहरूसँग पनि छलफल गर्नुपर्छ।

क्यासिनोको संख्या बढिरहेको तर ठूला क्यासिनोहरू बन्द भइरहेको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

अहिले नेपालका एउटै शहरमा सात–आठवटासम्म क्यासिनो खुलेका उदाहरण छन्। ती कुन आधारमा खुले, कसरी खुले भन्ने विषयमा पनि अध्ययन हुनुपर्छ। अर्कोतर्फ, पहिले ठूला लगानी र ठूलो रोजगारी सिर्जना गरेका क्यासिनोहरू बन्द भइरहेका छन्। काठमाडौंका केही चर्चित क्यासिनोहरू बन्द छन्। तीमध्ये एभरेस्ट, अन्नपूर्ण, र्‍याडिसन, सांग्रिला लगायतका क्यासिनोहरू पनि पर्छन्।

एउटा क्यासिनोमा एक हजारदेखि १५०० जनासम्मले रोजगारी पाउने अवस्था थियो। हाउसकिपिङदेखि जनरल म्यानेजरसम्म विभिन्न तहका कर्मचारीले काम गर्थे। त्यस्ता व्यवसाय बन्द हुँदा लगानी मात्र होइन, रोजगारी पनि प्रभावित हुन्छ। त्यसैले कुन कारणले ती क्यासिनो बन्द भए, लगानीकर्ता किन बाहिरिए र रोजगारी कहाँ गयो भन्ने विषयमा राज्यले अध्ययन गर्नुपर्छ।

तपाईंले नेपालमा क्यासिनो व्यवसायको पुरानो समय पनि देख्नुभएको छ। त्यो समय र अहिलेको अवस्थाबीच के फरक पाउनुहुन्छ ?

नेपालमा क्यासिनो व्यवसाय सुरु भएको प्रारम्भिक समय निकै फरक थियो। सोल्टी होटलमा क्यासिनो सञ्चालन भएको समयदेखि नै नेपालमा क्यासिनो पर्यटनको सम्भावना देखिएको थियो। त्यसबेला विदेशी पर्यटक, विशेषगरी दक्षिण एसियाका विभिन्न मुलुकबाट आउने ग्राहक क्यासिनोमा आकर्षित हुन्थे।

मैले पनि करिब १९ वर्षको उमेरमा क्यासिनो क्षेत्रमा काम सुरु गरेको हुँ। त्यसबेला क्यासिनोमा काम गर्दा ग्राहकको ठूलो चाप हुन्थ्यो। त्यतिबेला भारतमा क्यासिनोको पहुँच सीमित थियो। नेपालमा आउने विदेशी ग्राहकका लागि क्यासिनो एउटा प्रमुख आकर्षण थियो। त्यो समयको क्यासिनो व्यवसायमा सेवा, आतिथ्यता र व्यावसायिक व्यवस्थापनलाई निकै महत्त्व दिइन्थ्यो। अहिले त्यो वातावरणमा परिवर्तन आएको छ।

भारतमा क्यासिनो विस्तार हुनुको असर नेपालमा परेको हो ?

मेरो बुझाइमा त्यसको असर परेको छ। पहिले भारतमा क्यासिनोको विकल्प सीमित हुँदा भारतीय ग्राहक नेपाल आउँथे। पछि भारतका गोवा र सिक्किमलगायत स्थानमा क्यासिनो सञ्चालन हुन थालेपछि नेपाली क्यासिनोले भारतीय ग्राहकमा मात्र निर्भर भएर चल्न सक्ने अवस्था रहेन।

तर यसको अर्थ नेपालमा सम्भावना सकियो भन्ने होइन। नेपालले आफ्नो नीति, सेवा र अपरेसनलाई सुधार गरेर नयाँ बजार विकास गर्न सक्छ। त्यसका लागि अनुभवी अपरेटर र दीर्घकालीन सोच आवश्यक हुन्छ।

तपाईंले क्यासिनो व्यवसायमा ‘एक्सपर्टिज’को अभाव भएको बताउँदै आउनुभएको छ। यसको अर्थ के हो ?

क्यासिनो सञ्चालन सामान्य व्यवसाय सञ्चालन गरेजस्तो होइन। यसमा छुट्टै विशेषज्ञता चाहिन्छ। उदाहरणका लागि, निर्माण व्यवसायीलाई भवन कसरी बनाउने भन्ने ज्ञान हुन्छ। कुन ठाउँमा कस्तो पिलर राख्ने, सिमेन्ट र बालुवाको अनुपात कस्तो हुने भन्ने उसलाई थाहा हुन्छ। तर त्यही व्यक्ति क्यासिनो व्यवसायमा आयो भने क्यासिनो कसरी सञ्चालन गर्ने, कस्तो ग्राहक लक्षित गर्ने, कस्तो लगानीकर्ता ल्याउने, सरकारसँग कसरी समन्वय गर्ने भन्ने कुरा उसलाई थाहा नहुन सक्छ।

नेपालमा यही समस्या देखिएको छ। क्यासिनोको विशेषज्ञतालाई पर्याप्त रूपमा प्रयोग गरिएन। गैर–क्यासिनो क्षेत्रबाट आएका लगानीकर्ता र सञ्चालकले पनि क्यासिनोमा प्रवेश गरे। त्यसले व्यवसाय सञ्चालनमा उतारचढाव ल्याएको मेरो बुझाइ छ। क्यासिनोको आफ्नै अपरेसन, ग्राहक व्यवस्थापन, अन्तर्राष्ट्रिय बजार, वित्तीय अनुशासन र जोखिम व्यवस्थापन हुन्छ। त्यसलाई बुझ्ने मानिसलाई निर्णय प्रक्रियामा राख्नुपर्छ।

क्यासिनो क्षेत्र अस्थिर हुनुको मुख्य कारण तपाईंले के देख्नुहुन्छ ?

पहिलो कारण स्थिर नियमको अभाव हो। दोस्रो, अनुभवी अपरेटरको अभाव हो। तेस्रो, क्यासिनो विशेषज्ञतालाई निर्णय प्रक्रियामा पर्याप्त रूपमा समेटिन नसक्नु हो। कहिले क्यासिनो बन्द हुने, फेरि खोलिने, नियम परिवर्तन हुने अवस्था आयो। यसले लगानीकर्तालाई दीर्घकालीन योजना बनाउन कठिन बनाउँछ। करोडौं वा अर्बौं रुपैयाँ लगानी गर्ने व्यक्तिले आज बनाएको नियम भोलि परिवर्तन हुन्छ कि हुँदैन भन्ने निश्चितता खोज्छ।

त्यसैले राज्यले एउटा स्थिर प्रणाली बनाउनुपर्छ। क्यासिनो व्यवसायलाई कुन स्तरको होटलमा, कुन मापदण्डमा र कस्तो लगानीका आधारमा सञ्चालन गर्न दिने भन्ने स्पष्ट हुनुपर्छ।

नेपालीलाई क्यासिनो प्रवेशमा लगाइएको प्रतिबन्धबारे तपाईंको धारणा के छ ?

यो विषयमा सकारात्मक र नकारात्मक दुवै पक्षबाट बहस गर्नुपर्छ। क्यासिनोमा विकृति हुनसक्छ भन्ने कुरा म अस्वीकार गर्दिनँ। जुवा वा सट्टेबाजीसँग जोडिएका कारण यसको सामाजिक पक्ष पनि छ। तर नेपालीलाई रोक्दा नेपाली ग्राहक विदेशमा गएर खेल्ने अवस्था पनि छ। कोही गोवा जान्छन, कोही सिक्किम, कोही मकाउ जान्छन। त्यसरी नेपालीले खर्च गरेको पैसा विदेश जान्छ। त्यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा राज्यले बहस गर्नुपर्छ।

यदि राज्यले प्रवेश खुला गर्ने निर्णय गर्छ भने त्यसबाट कर कसरी उठाउने, कति रकमको कारोबारलाई कसरी नियमन गर्ने भन्ने स्पष्ट प्रणाली चाहिन्छ। प्रवेश नदिने हो भने त्यसको सामाजिक र आर्थिक प्रभावबारे पनि अध्ययन गर्नुपर्छ।

तपाईंले विदेशी ग्राहकले नेपालमा पैसा ल्याउने प्रणालीबारे पनि प्रश्न उठाउनुभएको छ। यसबारेमा तपाईकाे धारणा के छ ?

यो अत्यन्त महत्त्वपूर्ण विषय हो। उदाहरणका लागि कुनै विदेशी ग्राहकले नेपालमा ठूलो रकममा क्यासीनो खेल्न चाहन्छ भने त्यो रकम कानुनी रूपमा नेपालमा कसरी ल्याउने, खेलिसकेपछि वैधानिक रूपमा कसरी फिर्ता लैजाने ? राज्यले यसको स्पष्ट प्रणाली बनाउनुपर्छ।

यदि कानुनी बाटो स्पष्ट भएन भने अवैध माध्यम प्रयोग हुने जोखिम रहन्छ। त्यसैले विदेशी मुद्राको कारोबार, चिप्स खरिद, जितेको रकम फिर्ता लैजाने व्यवस्था लगायतका विषयलाई नियमन गर्न सकिन्छ।

हामीसँग यसका लागि विभिन्न विकल्पबारे आइडियाहरु छन्। राज्यसँग बसेर छलफल गर्ने हो भने क्यासिनोबाट कर मात्र होइन, अन्य वैधानिक माध्यमबाट पनि राज्यको आम्दानी बढाउन सकिन्छ।

तपाईंले क्यासिनोबाट राज्यको आम्दानी निकै बढाउन सकिन्छ भन्नु भएको छ। कसरी ?

अहिले राज्यलाई राजस्व आवश्यक छ। क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ।

मैले हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावनाबारे कुरा गरेको छु। यो कुनै सामान्य दाबी मात्र होइन, लामो समयको अनुभवका आधारमा देखेको सम्भावना हो। तर यसको विस्तृत मोडल राज्यसँग बसेर छलफल गर्नुपर्छ। क्यासिनोबाट कसरी विदेशी मुद्रा भित्र्याउने, विदेशी ग्राहक कसरी आकर्षित गर्ने, उनीहरूको पैसा कानुनी माध्यमबाट कसरी नेपाल ल्याउने र त्यसबाट राज्यलाई कसरी आम्दानी गराउने भन्नेमा स्पष्ट योजना चाहिन्छ।

क्यासिनोलाई सामाजिक विकृतिको रूपमा मात्र हेर्नु उचित हो ?

क्यासिनोमा नकारात्मक पक्ष हुन सक्छ। यसलाई अस्वीकार गर्नु हुँदैन। तर त्यसैका आधारमा क्यासिनो व्यवसायलाई सम्पूर्ण रूपमा विकृतिको रूपमा हेर्नु पनि उचित हुँदैन। लस भेगास, सिंगापुर र मकाउलाई हेर्ने हो भने क्यासिनो पर्यटन र मनोरञ्जन उद्योगको एउटा हिस्सा बनेको छ। त्यहाँ क्यासिनोमा काम गर्ने कर्मचारीलाई व्यावसायिक रूपमा हेर्ने गरिन्छ।

नेपालमा भने क्यासिनोमा काम गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ। क्यासिनोमा काम गर्ने हजारौं कर्मचारी र उनीहरूमा निर्भर परिवार पनि छन्। मैले आफ्नो जीवनमा क्यासिनो क्षेत्रबाट रोजगारी पाएको छु र त्यही आम्दानीबाट परिवार चलाएको छु। त्यसैले यो कामप्रति मलाई कुनै हीनताबोध छैन। मैले मेहनत गरेर कमाएको हो।

नेपालका ठूला क्यासिनो बन्द हुनुमा राज्यको नीति मात्र जिम्मेवार छ ?

राज्यको नीति मात्र कारण हो भन्न मिल्दैन। अपरेटरको कमजोरी पनि हुन्छ। कतिपय क्यासिनोले राज्यलाई कर नतिरेको वा पुराना दायित्व बाँकी रहेको विषय पनि आएको छ। यस्ता विषयमा राज्यले आफ्नो अध्ययन गर्नुपर्छ।

यसबाहेक कर्मचारी युनियन, होटल र क्यासिनोबीचको सम्बन्ध, लगानीकर्ता र सञ्चालकबीचको सम्झौता लगायतका धेरै पक्ष छन्। अर्कोतर्फ, भारतमा क्यासिनोको विस्तार भएपछि नेपालमा भारतीय ग्राहकमा आधारित क्यासिनो व्यवसायमा प्रतिस्पर्धा बढेको छ। त्यसको प्रभाव पनि परेको हुनसक्छ। यी सबै कारणलाई अलग–अलग तरिकाले अध्ययन गर्नुपर्छ।

लगानीकर्ताको सुरक्षा कसरी गर्न सकिन्छ ?

लगानीकर्ता ल्याएर पैसा हाल्न लगाउने अनि केही समयपछि विभिन्न कारणले उसलाई व्यवसायबाट बाहिरिने अवस्था बनाउनु हुँदैन। लगानीकर्ताले पनि आफ्नो लगानी सुरक्षित हुने वातावरण खोज्छ।

क्यासिनो सञ्चालनमा होटल, लगानीकर्ता र राज्यबीच त्रिपक्षीय समझदारीको आवश्यकता देख्छु। लगानीकर्ताको भुमिका के हो, होटलको भूमिका के हो, राज्यको नियमन र दायित्व के हो भन्ने स्पष्ट हुनुपर्छ।

लगानीकर्ताले अर्बौं रुपैयाँ लगानी गर्दा राज्यले पनि उसको लगानीको सुरक्षा र स्थिर नीतिको सुनिश्चितता गर्नुपर्छ। नियम उल्लंघन भएको अवस्थामा कारबाही हुनुपर्छ, तर नियम नै पटक–पटक परिवर्तन हुने अवस्था हुनु हुँदैन।

क्यासिनो क्षेत्रबारे तपाईंको आफ्‌नै अनुभव कस्तो छ ?

म करिब १९ वर्षको उमेरमा क्यासिनो क्षेत्रमा प्रवेश गरेको हुँ। त्यसपछि विभिन्न देश र संस्थामा काम गर्ने अवसर पाएँ। भारतको गोवामा पनि सात वर्ष काम गरेँ। त्यहाँ एउटा ठूलो टोली व्यवस्थापन गर्ने मेरो जिम्मेवारी थियो।

नेपालमा पनि विभिन्न क्यासिनोमा सीईओ, जीएम र मार्केटिङ डाइरेक्टरका रूपमा काम गरेको छु। अन्नपूर्ण क्यासिनोमा पनि लगानीकर्ता ल्याउने प्रक्रियामा मेरो भूमिका थियो। तर पछि होटल नै बन्द/डिस्मेन्टल भएपछि क्यासिनो पनि बन्द भयो। यसले नेपालको व्यावसायिक विश्वसनीयतामा पनि प्रश्न उठाएको छ। कुनै लगानीकर्ता नेपालमा ठूलो लगानी लिएर आयो र परियोजना बीचमै बन्द भयो भने त्यसले भविष्यमा अर्को लगानीकर्ता आउन चाहने वा नचाहने निर्णयमा असर गर्न सक्छ।

अब सरकारले क्यासिनो क्षेत्र सुधारका लागि तत्काल के गर्नुपर्छ ?

पहिलो काम स्थिर नीति बनाउनु हो। नियमावली पटक–पटक परिवर्तन गर्नु हुँदैन। क्यासिनो कहाँ, कुन स्तरको होटलमा र कुन मापदण्डमा सञ्चालन गर्ने भन्ने स्पष्ट हुनुपर्छ। दोस्रो, अनुभवी क्यासिनो विशेषज्ञलाई नीति निर्माण र कार्यान्वयनमा सहभागी गराउनुपर्छ। हामीजस्ता लामो समयदेखि यो क्षेत्रमा काम गरेका व्यक्तिसँग सरकारले बसेर छलफल गर्न सक्छ। तेस्रो, लगानीकर्ताको सुरक्षा गर्नुपर्छ। राम्रो लगानीकर्ता नेपालमा आउँदा उसले यहाँ दीर्घकालीन रूपमा काम गर्न सक्ने वातावरण पाउनुपर्छ।

चौथो, विदेशी ग्राहकलाई लक्षित गरेर क्यासिनो पर्यटन विकास गर्नुपर्छ। नेपाल आउने विदेशी पर्यटकलाई क्यासिनो मात्र होइन, हिमाल, संस्कृति, धार्मिक पर्यटन र अन्य गतिविधिसँग जोड्न सकिन्छ।

कसरी राज्यसँग सहकार्य गर्न सकिन्छ ?

मैले आफ्नो जीवनको ठूलो हिस्सा क्यासिनो क्षेत्रमा बिताएको छु। मैले नेपालमा मात्र होइन, भारतमा पनि काम गरेको छु। त्यहाँका ठूला लगानीकर्ताले हाम्रो विशेषज्ञता पहिचान गरेर जिम्मेवारी दिएका छन्। नेपाल सरकारले पनि यस्तो विशेषज्ञतालाई उपयोग गर्नुपर्छ भन्ने मेरो आग्रह हो।

राज्यलाई पनि सहयोग गर्न तयार छु। लगानीकर्तालाई पनि आवश्यक परे परामर्श दिन तयार छु। क्यासिनो व्यवसायलाई कसरी स्थिर बनाउने, विदेशी ग्राहक कसरी ल्याउने र राज्यलाई कसरी बढी आम्दानी हुने वातावरण बनाउने भन्ने विषयमा छलफल गर्न हामी तयार छौं।

नेपालमा फेरि पुरानो समयमा जस्तो विदेशी ग्राहक आकर्षित गर्न सकिने सम्भावना छ। तर त्यसका लागि दृष्टिकोण परिवर्तन गर्नुपर्छ। राम्रो नीति, अनुभवी अपरेटर, सुरक्षित लगानी वातावरण र राज्यको सक्रिय समन्वय आवश्यक छ। क्यासिनो व्यवसायलाई केवल जुवा वा विकृतिका रूपमा हेरेर मात्र समाधान खोज्न सकिँदैन। यसको नकारात्मक पक्षलाई नियन्त्रण गर्दै रोजगारी, पर्यटन, विदेशी मुद्रा र राजस्वको सम्भावनालाई पनि हेर्नुपर्छ। राज्य, लगानीकर्ता, होटल र विशेषज्ञ सबै बसेर स्पष्ट प्रणाली बनाउन सके नेपालमा क्यासिनो व्यवसायले अहिलेको अवस्थाभन्दा फरक उचाइ लिन सक्छ।

प्रकाशित: २०८३ असोज २ गते शुक्रबार ११:५८
प्रतिक्रिया

थप समाचार

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

जलविद्युत्‌का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ: हितेन्द्र देव शाक्य [अन्तर्वार्ता]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत्‌ आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन...

‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत...

‘उत्तरी नाका अवरुद्ध हुँदा नेपाल–चीन व्यापार गम्भीर संकटमा, अर्बौंको लगानी जोखिममा’

हालै गएको सुख्खा पहिरोले केही कन्टेनर क्षतिग्रस्त भएका छन्। हामीले कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाएका छैनौं। कुनै पनि बेला थप पहिरोले कन्टेनर बगाउन सक्ने डर छ।

नेपालमा वार्षिक ६३ लाख पर्यटक भित्र्याउन सकिन्छ: पर्यटन व्यवसायी पाण्डे [अन्तर्वार्ता]

पाण्डे भन्छन्, 'पर्यटनबाटै नेपालको आर्थिक रूपान्तरण सम्भव छ।'
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना