माग्नेलाई ६१ लाख? यो समाचारले अहिले सिने बजार तरङ्गीत छ।
खासगरी सामाजिक सञ्जालहरुमा यसबारे दुई प्रकारका मत अभिव्यक्त छन्। एकथरीले यो समाचारलाई कलाकारको प्रोत्साहन र सम्मानको प्रतीकका रुपमा लिइरहेका छन् भने अर्कोथरीले यसले फिल्मको बजेट प्रणाली विगार्ने मात्र होइन निर्मातालाई थप जोखिममा पार्ने ‘स्टन्ट’का रुपमा लिइरहेका छन्।
तर मेरो मत भने कलाकारको पक्षमा छ। त्यसका केही आधारहरु छन्।
केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ समकालिन कलावृत्तमा एउटा उम्दा हास्यकलाकार हुन्। यसमा दुईमत छैन। कला–संघर्षको यात्रामा उनका आफ्नै कथाउपथाहरु छन्। आफ्नै अनुभव–अनुभूतिहरु छन्।
मकवानपुरको छतिवनतिर एउटा केटोले कलाको सपना देख्यो। काठमाडौ आयो। काठमाडौ रहर थिएन बाध्यता थियो। बाँच्नका लागि उसले काठमाडौमा जे दाम पायो काम गर्दै गयो। फुटपाथमा पसलदेखि टेम्पु चालक सम्म। गर्न मिल्ने र गर्न सक्के जति सबै गर्यो। सपना कलाको थियो। उसले सपनालाई मर्न दिएन। अफ्यारोसँग हारेन। थाकेन। निरन्तर झण्डै ३० बर्ष आँफू बाँच्न, परिवार हुर्काउन जे आईपर्यो सबैथोक गर्यो तर कला बिर्सिएन। सधै सरस्वतीको भक्त बन्यो। टिपन टापनमा रमायो। गिताञ्जलीमा हरायो।
निरन्तरता र प्रतिवद्धताले उसलाई एउटा सफल मोडमा ल्यायो। कलामा माग्ने बनेपछि ऊ चम्कियो। अनि झण्डै ३ दशक पछि काम गरेको ज्याला सजिलै सँग ६० लाख प्लस पुर्यायो। अनि चर्चा भयो, माग्नेलाई ६१ लाख?
एउटा कलाकारले पाएको पारिश्रमिकले अहिले नेपाली चलचित्र उद्योगमा बहस निम्त्याएको छ। किन दिने त्यत्रो पैसा? निमार्ता डुब्छन्। कलाकारलाई मात्रै किन? स्क्रिप्टलाई खै पैसा? नायिकालाई खै पैसा? माग्नेलाई ६१ लाख?
सिनेमालाई बजार सापेक्ष नै उत्पादन ठान्ने हो भने निर्माताले आफ्नो कथाको डिजाइन उभ्भिएर कलाकारको छनोट गर्छ। कुनै कथा ‘प्रोटोगोनिस्ट’लाई नै केन्द्रमा राखेर लेखिएको रहेछ भने स्वभाविक रुपमा निर्माता–निर्देशकले त्यो पात्रको मूल्य र मागको पक्षलाई पनि केन्द्रमा राखेको हुन्छ। नेपालमा मात्र होइन, संसारभरको फिल्म उद्योगमा नियमको यो चक्र लागू हुन्छ। जहाँसम्म ‘माग्ने राजा’को सन्दर्भ हो, यसमा पनि यही नियम र नियति लागू भएको स्पष्ट छ। कथाको भार र पात्रको अपरिहार्यताले माग्नेलाई ६० लाख प्लसमा लैजाँदा अरुले चित्त दुखाउनुपर्ने ठाउँ छैन। स्भाविक रुपमा दिने निर्माता र लिने कलाकारबीच भएको यो मूल्य–मोडलाई लिएर किचलो गर्नु भनेको सिंगो फिल्म निर्माणको प्रक्रियालाई सामान्यीकरण गर्ने प्रयास मात्र होइन। हरेक फिल्मका आ–आफ्ना आवश्यकता अनुसारका विशेषता हुन्छन्। यो वैविध्य स्विकार्न जरुरी छ।
त्यसैले, माग्ने चरित्रलाई हेरेर उनले कति पैसा लिए भन्दा पनि त्यति पारिश्रमिकका लागि माग्ने कसरी योग्य भए एक पटक सोच्ने कि? माग्ने मात्रै हैन अहिले कलाकारको बढ्दो पारिश्रमिक नेपाली सिनेमा उद्योगको नयाँ फड्को हो। नयाँ सम्भावनाको ढोका हो। कलाकारका पक्षबाट हेर्ने हो भने यो कलाको सम्मान पनि त हो।
रंगमञ्चमा रमाउँदै आएको एउटा सामान्य कलाकार बिजय बराल जसले व्यापार गरेन, दोकान खोलेन, बिदेश गएन, डाक्टर, माष्टर ईन्जिनियर बन्ने सपना देखेन। बरु उल्टै बाउ आमाको सपनालाई अल्लि पर राख्यो। कला र रंगमञ्चलाई नै सबै थोक ठान्यो। कर्म गर्दै जाँदा ‘पूर्णवहादुरको सारंगी’ले नपत्याउँदो गरि पैसा कमायो। तव उसको पारिश्रमिकमा पनि छलाङ्ग आयो। यसमा बिजय बरालले के बिगार्यो? निर्माताले दिन्छु भने, उसले लियो।
यो कलाको मूल्य हो। मेहनत र लगावको पारिश्रमिक हो। उसले कानुन मिचेको छैन। क्षमता बेचेको छ। विपिन कार्की बिपिन बन्नका लागि थुप्रै रात रोएको छ। भोको बसेको छ। गाउँबाट आमा बाउको काख छोेडेर काठमाडौमा सपनाको पोको बोकेर आएको हो। धम्काएर, थर्काएर या कमिशन दिएर बिपिन बिपिन बनेको हैन। सौगात मल्ल कलामा तपश्या गरेर उम्रिएको पिपल बोट हो। अनमोल र प्रदीपले कसैको केही बिगारेका छैनन्। उनीहरुले पनि आफ्नो कामको मूल्य लिइरहेका छन्।
यी सबै नामहरुका आभामा ६१ लाखको माग्नेको कथा सबैका लागि एउटा प्रेरणा र उदाहरण पनि त हो।
[यो टिप्पणी हामीलाई इमेल मार्फत् प्राप्त भएको हो। यो विषयमा स्वस्थ्य बहस होस् भनेर हामीले यसलाई प्रकाशित गरेका हौं– सम्पादक]


