काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवस अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ सञ्चालन गरेको छ। प्रदर्शनी १५ देखि ३० जेठसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा सुरु भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले नाफा परिसरमा प्रदर्शनी उद्घाटन गरे। प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला\मूर्तिकला, समसामयिक चित्रकला÷मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यंग्य चित्र, भावभंगी कला, क्यारिकेचर र डिजिटल विधाका ६ सयभन्दा बढी कलाकारका करिब ७ सय कलाकृति रहेका छन्।
उद्घाटनका दिन सोमबार चार स्रष्टालाई सम्मान–पुरस्कार वितरण गरियो भने सहभागी तिनै कलाकारमध्ये ३८ जना पुरस्कृत पनि भए।
‘अनुसन्धान, सिर्जना र सम्मान’ लक्ष्य बोकेको नाफाले गणतन्त्रलाई महोत्सव बनाउन गणतन्त्र दिवसलाई नै छानेर सोही दिनदेखि ३० जेठसम्म प्रदर्शनी थालेकोे नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए। ‘१५ दिने अवधिमा कलाका विविध विषयमा विज्ञ, सम्बन्धित व्यक्ति तथा सरोकारवालासँग प्यानल डिस्कनसमेत हुनेछ’, थुम्केलीले भने।


