काठमाडौं– भारतीय विद्युतीय सवारी उत्पादक इनिग्मा ईभीले चार मोडलका विद्युतीय स्कुटर नेपाली बजारमा लन्च गरेको छ। नेपालका लागि इनिग्माको आधिकारिक विक्रेता राइजिङ ट्रेडिङ कम्पनीले मंगलबार विद्युतीय स्कुटरहरू सार्वजनिक गरेको हो।
सार्वजनिक गरेका स्कुटरमा क्रिंक प्रो, एन-८, क्रिंक भी-१ र जिटी-४५० प्रो छन्। इनिग्माका स्कुटर पावर र माइलेजमा ‘उत्कृष्ट’ मानिने कम्पनीको दाबी छ। ३० एमएम मोटर म्याग्नेट दिइएको स्कुटरमा ब्याट्रीको लामो आयुका लागि स्मार्ट बिएमएस प्रविधि जडान गरिएको छ।
स्कुटरमा क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेप्ट अलार्म सिस्टम, युएसबी पोर्ट, फाइण्ड माई स्कुटर, जिपिएस ट्र्याकिङ, जिओ ट्यागिङलगायत विशेषता रहेका छन्।
कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठले पावर र पर्फर्मेन्समा प्रतिस्पर्धीसरहका स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको बताए।
श्रेष्ठका अनुसार स्कुटर लन्चका अवसरमा भारी छुटको अफर पनि ल्याइएको बताए। ३ लाख २० हजार पर्ने क्रिंक प्रोको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, २ लाख ६५ हजार पर्ने एन-८ को २ लाख ५० हजार रुपैयाँ तोकिएको छ। २ लाख ८५ हजार अधिकतम खुद्रा मूल्य तोकिएकोमा अफरमा क्रिंक भी-१ को २ लाख ६० हजारमा उपलब्ध हुनेछ। जिटी-४५० प्रोको २ लाख ३५ हजार रुपैयाँमा नै उपलब्ध गराउने कम्पनीको भनाइ छ।
क्रिंक प्रो प्रतिघण्टा ८० किलोमिटरसम्म स्पिड रहेको र एकपटकको फुल चार्जमा ९० किलोमिटर माइलेज दिने बताइएको छ। ब्याट्री चार्ज हुन चारदेखि पाँच घण्टा लाग्छ। एन ८ स्कुटरले फुल चार्जमा एक सय २० किलोमिटरसम्म, क्रिंक भी १ र जिटी ४५० प्रो स्कुटरले पनि फुल चार्जमा एक सय २० किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ। कम्पनीले सबै मोडलका ब्याट्रीमा तीन वर्षको वारेन्टी दिएको छ।


