बनेपा- चलचित्र ‘ऐना झ्यालको पुतली’ काभ्रे जिल्ला को बनेपाका विभिन्न स्कुलमा प्रदर्शन भइरहेको छ। उक्त चलचित्र गत साता बनेपा बजारमा रहेको ज्योति एकेडेमी, विद्या सागर स्कुल ,बाल बाटिका बिद्या मन्दिर , ज्ञान ज्योति स्कुल , बागमती बोर्डिङ स्कुल, न्यु मोडर्न स्कुल, राम भक्त मेमोरियल स्कुल लगायतमा प्रदर्शन गरिएको जानकारी कार्यक्रमका संयोजक लर्निङ मिडियाका कपिलराज लामिछानेले बताए।
चलचित्र देशभरिका स्कुले विद्यार्थीमाझ प्रदर्शनमा लागिरहेको पनि जानकारी दिए। देशविदेशका फिल्म फेस्टिभल’मा विभिन्न विधामा अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’ नेपालबाट अस्कर २०२३ का लागि आधिकारिक रूपमा सिफारिस भएको थियो। तर, फिल्म अस्करको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा छनोटमा पर्न असफल भएको छ।
दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म व्यवसायिक रूपमा सफल पनि भयो। बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली फिल्मको रूपमा फिल्मले इतिहास बनाएको छ।
सुजित बिडारीले यस फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका हुन्। फिल्ममा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको शिक्षाका लागि गर्ने संघर्षलाई देखाइएको थियो। त्यसबाहेक फिल्ममा दिदी र भाइको भावनात्मक सम्बन्धको कथा पनि छ।
फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारको अभिनय छ।


