काठमाडौं– उद्योग वाणिज्य महासंघ सचिवालयमा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको रोजगार मेलाको महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे।
हिजोदेखि सुरु भएको मेला आजसम्म चल्नेछ।
रोजगार मेलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरोजबको प्राविधिक सहायता रहेको छ। कामको खोजीमा रहेका युवालाई मेलामा सहभागी कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसर खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको हो।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेन्डर इभेन्टको रुपमा अगाडि बढाउने बताए। श्रम बजारमा रहेको रोजगारी मिस–म्याच समस्या समाधान गर्न रोजगार मेलाजस्ता कार्यक्रमले सघाउने धारणा अध्यक्ष ढकालको थियो। ‘बजारमा दक्ष जनशक्ति अभाव पनि छ, काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ। यो मिस म्याचलाई कसरी सम्बोधन गर्न सकिन्छ, भन्नेमा महासंघ केन्द्रित छ’, अध्यक्ष ढकालले भने।
कुल गार्हस्थ उत्पादनमा करिव ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान छ। महासंघ वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका युवा र जनशक्ति खोजी रहेका उद्योग प्रतिष्ठान कम्पनीबीच पुलको काम गर्ने बताए।
महासंघको रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता रहेको जानकारी गराए। मेलामा कम्पनीले ६ सय बढीले रोजगारी अवसर पेस गरेका छन् । दुुई दिने मेलामा करिब ५ हजार जबसिकरले अवलोकन गर्ने लक्ष्य राखिएको छ। महासंघको पहलमा आयोजना भएको रोजगार मेला, कामको खोजीमा रहेका युवा र कम्पनीका लागिसमेत उपलब्धिमूलक हुने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय परियोजना संयोजक शौरभराम जोशीले महासंघसँग मिलेर रोजगार मेला आयोजना गर्न पाएकामा खुसी व्यक्त गरे। प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले रोजगार मेला नेपालमा रहेको श्रम शक्तिको पहिचान गर्ने एउटा महत्त्वपूर्ण माध्यम हुने र सरकारले पनि यस्ता कार्यक्रम प्रवद्र्धनमा विशेष सहयोग गर्ने नीति रहेको बताए।
रोजगार मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य छ। उद्घाटन कार्यक्रममा महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, कार्यकारिणी समितिका सदस्य, मेरोजबका व्यवस्थापन निर्देशक, रोजगार सेवा केन्द्रका प्रतिनिधि, आइएलको जेनेभाका ओल्गा स्ट्रेरियोटस्को इलिनालगायत सहभागी थिए।


