काठमाडौँ– दुई वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद-२’ का निर्माता सुभाष थापा अझसम्म फरार छन्। चेक बाउन्सको कसुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दासमेत सम्पर्कमा आएका छैनन्।
असार २९ गते आइतवार मात्र अदालतले निर्माता थापालाई दोषी ठहर गर्दै १५ दिनको कैद सजाय हुने फैसला सुनाएको छ। काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार निर्माता थापालाई ३२ लाख ५० हजार रूपैयाँ बिगो भराउने, त्यसको ५ प्रतिशत जरिमाना गराउने र १५ दिन कैद सजाय हुने फैसला सुनाइएको छ। न्यायाधीश कपिलमणि गौतमको इजलासले थापालाई दोषी ठहर गरेको हो।
निर्माता थापाविरूद्ध ‘प्रसाद २’ निर्माणको क्रममा ठगी गरेको भन्दै लगभग दुई वर्षअघि केशव पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी पर्नासाथ प्रहरीले थापाको खोजी सुरु गरेको थियो। तर थापा सुटुक्क भारत पसेको सूचना प्रहरीले पाएको थियो।
‘प्रसाद-२ को निर्माता बनाउँछु’ भन्दै थापाले पाण्डेसँग ६२ लाख ५० हजार लिएका थिए। तर पछि थापाले अर्कै व्यक्तिलाई निर्माता बनाएर चलचित्रको छायांकन गरे। त्यसपछि पाण्डेले उक्त रकम फिर्ता मागेका थिए। थापाले पटकपटक चेक दिएको तर चेक नसाटिएपछि पाण्डे प्रहरीमा पुगेका थिए।
जाहेरी परेलगत्तै फरार बनेका थापा हाल अस्ट्रेलियामा रहेको स्रोतको भनाइ छ। थापाका निकटस्थहरूका अनुसार मुम्बई हुँदै उनी अस्ट्रेलिया पुगेका हुन्।
‘प्रसाद २ रिलिजमा नआउँदै विवादमा तानिएपछि थापाले फेसबुकमा स्टाटस लेख्दै रिलिजको वातावरण बनाइदिन आग्रह गरेका थिए। रिलिज भएपछि सबैको पैसा तिर्ने उनको भनाइ थियो। तर, चलचित्रले राम्रो व्यापार गर्न सकेन। चलचित्रका प्राविधिक तथा कलाकारहरूले समेत पारिश्रमिक पाउन नसकेको बुझिएको छ।


