नमस्ते सबै जनालाई
केही समयदेखि सामाजिक सञ्जाल, विशेष गरी TikTok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टीकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले मेरो ध्यान आकर्षित गरेको छ । ती सामग्रीहरूलाई मध्यनजर गर्दै केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको छु । हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ । चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो । सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन ।
हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिनँ। दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्छ ।
सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो । सम्बन्धित कानुनी प्रक्रिया समाप्त भइसकेको छ र अदालतले निर्णय गरिसकेको छ।
Self-healing (आत्मोपचार) गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ । मैले के के भोगेँ, कुन अवस्थाबाट गुजें, र आफूलाई कसरी heal गरेँ – त्यो मलाई मात्र थाहा छ । बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ । अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ ।
कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु । सम्बन्धमा आएको पीडालाई आत्म- संयमका साथ सहेर बसेको छु। यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ।
प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
म स्पष्ट रूपमा भन्न चाहन्छु • अहिले मेरो बारेमा भइरहेका अनावश्यक TikTok भिडियोहरू र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याइरहेका छन्। प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म- सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानि तथा व्यावसायिक नोक्सानीको क्षतिपूर्ति सहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।
मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको सङ्केत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ । अहिले दुवैको आ-आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ। कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?
अन्त्यमा, यो कठिन समयमा मलाई साथ दिनु भएका सबै शुभचिन्तकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, तपाईँहरू सबैलाई अनुरोध गर्दछु – कृपया अर्को पक्षप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस् ।
म अहिले अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी परामर्श लिँदै छु ।
भवदीय,
विष्णु सापकोटा







