काठमाडौँ- वेस्ट इन्डिज र अस्ट्रेलियाबीच ५ म्याचको टी-२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १९० रनको लक्ष्य दिएको छ।
वेस्ट इन्डिजको जमैकास्थित सबिना पार्कमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिले निर्धारित २० ओभर खेल्दै १८९ रन बनाएर १९० रनको चुनौती पस्किएको हो। खेलमा वेस्ट इन्डिजले ८ विकेट गुमाउनु परेको थियो।
वेस्टका कप्तान साइ होपले ३९ बल खेल्दै ५५ रन बनाए भने ३२ बल खेलेका रोस्टन चेजले ६० रन जोड्न सफल भए। साइमन हेटमेयरले १९ बल खेलेर ३८ रन बनाएका थिए भने ब्रान्डन किङले १८ रन जोडे। अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्। शेरफेन रुथरफोर्ड, ज्यासोन होल्डर, गुडाकेश मोती भने शून्य रनमै आउट भए।
खेलमा अस्ट्रेलियाका बेन डार्सुइसले ४ जनालाई आउट गराए। सिन एबोट, कुपर कोनोली, मित्सेल ओवेन र नाथ एलिसले समान एकएक विकेट लिएका थिए। अस्ट्रेलियाले ब्याटिङ गर्न बाँकी छ।
सिरिज वेस्ट इन्डिजका लागि आफ्नो घरेलु मैदानमा सम्मान जोगाउने अवसर हो भने अस्ट्रेलियालाई आफ्नो टी-२० वर्चस्व कायम राख्ने चुनौती बनेको छ।
वेस्ट इन्डिजको टोलीमा साई होपको कप्तानीमा आन्द्रे रसेल, जेसन होल्डर, रोटन चेज र शेरफेन रुथरफोर्ड खेलाडी छन्। यो सिरिज रसेलले हालै एक्समा आफ्नो अन्तिम टी-२० सिरिज हुने संकेत गरेका छन्।
यता, अस्ट्रेलियाको टोलीमा मिचेल मार्शको कप्तानीमा ग्लेन म्याक्सवेल, एडम जाम्पा, र जोश इङ्लिसजस्ता अनुभवी खेलाडी छन्। अस्ट्रेलियाले सन् २०२४ को टी-२० विश्वकपमा बलियो प्रदर्शन गरेको थियो, तर सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।
यी दुई टोली विगतमा १० वटा टी-२० म्याचमा आमनेसामने भएका छन्। यी खेलमध्ये अस्ट्रेलियाले ६ र वेस्ट इन्डिजले ४ म्याच जितेका छन्।
वेस्ट इन्डिजले सन् २०२४ मा श्रीलङ्काविरुद्धको घरेलु टी-२० सिरिज २-१ ले जितेको थियो, जबकि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध ३-० को क्लिन स्वीप गरेको थियो।
जमैकाको सबिना पार्कको मौसम यो समाचार तयार पार्दाको समयमा २८ डिग्री सेल्सियस छ भने आंशिक बदली हुने अनुमान छ।


