काठमाडौं–सन्राइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ।
स्थानीय तहमा सुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिलाई प्रदान गरेर आम्दानी वृद्धिमा मद्दत गर्ने तथा व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।
८ जेठदेखि बुधबारसम्म भएको तालिममा ३५ महिलाको सहभागितामा पाँच दिने दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा वीरेन्द्रनगर–२ का कार्यवाहक वडाध्यक्ष गजबहादुर बुढा, बैंकका कर्णाली प्रदेशका प्रमुख धर्मकुमार विष्ट, बैंकको प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्द्रनगर शाखाप्रमुख सुष्मा गिरी उपस्थित थिए। पाँच दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्तविज्ञ तर्कराज जोशीले गरेका थिए।
सीपमूलक तालिमले महिला कृषकमा दुग्ध पदार्थ उत्पादन वृद्धि र त्यसको बजारीकरण र बचतबारे जानकारी हासिल गर्न सघाउ पुग्ने विश्वास बैंकले लिएको छ।


