काठमाडौं– गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एन्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वको सहायक कम्पनी इन्डियन आयल माउरिसससँग संयुक्त लगानी गरी नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्म तयार हुने अपेक्षा गरिएको छ। यसका लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ। संयुक्त लगानीको पहिलो चरणअन्तर्गत अधिकारिक पुँजी लगानी लगभग६० करोड बराबर हुनेछ।
आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकता पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनको विविधीकरणको परिकल्पना पनि गरेको छ।
गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवं चेयरम्यान शेखर गोल्छाले भने, ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ। यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत् योजना छ।
यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ। ’संयुक्त लगानी सम्झौताले दुवै साझेदारको दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासप्रति साझा प्रतिबद्धता जनाउने गोल्छाले बताए।


