काठमाडौँ- अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीले फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन छोड्ने पक्कापक्की भएको छ। तर अहिलेसम्म उनले आउँदो सिजन कुन क्लबमा खेल्ने भनेर सार्वजनिक भने गरिसकेका छैनन्।
त्यसैले उनी जता पनि जान सक्ने सम्भावना रहेको छ। अबको केही घण्टा वा दिनमा उनले आफू कता खेल्ने भनेर निर्णय गर्न सक्छन्। धेरै बार्सिलोना समर्थकको आशालाई पछि पार्दै उनले बार्सिलोना नफर्किने घोषणा पनि गर्न सक्नेछन्। पछिल्लो अवस्था विश्लेषण गर्दा यो सम्भावना धेरै देखिन्छ।
बार्सिलोनाका मूख्य प्रशिक्षक जाभीले पनि अब कता जाने भन्ने ९९ प्रतिशत निर्णय मेस्सी आफैंले गर्ने बताएका छन्। यसले अहिले बार्सिलोना मेस्सीलाई अनुबन्ध गर्ने पक्षमा नरहेको देखाउँछ।
तर १२ वर्षको उमेरमा आफ्नो घर छोडेर फुटबल केरियरका लागि स्पेन पुगेका मेस्सी बार्सिलोनालाई दोस्रो घर मान्छन्। त्यसैले उनले बार्सिलोनाबाटै खेल्ने सपना देखेका पनि हुनसक्छन्।
खैर मेस्सी जुनै क्लबमा जाउन, यि ३५ वर्षे विश्वविजेता अहिले युरोपमै फुटबल खेल्न चाहन्छन्। तर अहिले बार्सिलोना भने मेस्सीका लागि कुनै ठोस प्रस्ताव गर्नसक्ने अवस्थामा छैन। यद्यपी उसले ला लिगाको यो सिजनमा भने उपाधि जितेको छ।
गएको केही हप्तादेखि मेस्सी साउदी अबेरिया जान्छन् भन्ने गरिपहरु मिडिया र सामाजिक सञ्जालका माध्यमबाट सुनिएका पनि छन्। त्यसमाथि साउदी अरेबियाका पर्यटन दुतसमेत रहेका मेस्सीले एक महिना अघि क्लबको स्विकृतिबिना साउदी गएका थिए।
उनी साउदी गएपछि क्लबले उनलाई अभ्यास गर्न प्रतिबन्धसमेत लगाएको थियो। अहिले साउदी अरबी क्लबका केही प्रतिनिधिहरु उनलाई अनुबन्ध गर्ने प्रकृयामा अघि बडिरहेको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ। उनले पिएसजी छोड्ने पक्कापक्की भएपछि नै यो प्रकृया अघि बढेको हो। उनी अरब जाने भए भने मोटो रकममा जाने अनुमान गरिएको छ।
त्यस्तै, उनलाई अमेरिकी क्लब इन्टर मियामीबाट पनि अफर आइरहेका छन्। तर मियामीबाट आएको अफर साउदीबाट आएको जति ठूलो रकमको नभएको दाबी गरिएको छ। तर उनी अमेरिका गए एडिडास र एप्पलसँग जोडिने मौका रहँदा यो सम्भावना पनि निकै उच्च देखिएको फुटबल पण्डिहरुले बताउँदै आएका छन्।


