काठमाडौँ। पूर्वसांसद तथा अभियन्ता ऋषिकेश तिवारीको ‘गाउँ घरलाई सम्झेर आऊ आजै’ बोलको गीत सार्वजनिक भएको छ। सामाजिक उद्यमशीलताका अभियन्ता तिवारीको परिकल्पना तथा शब्द रचनामा रहेको गीत बुधबार सार्वजनिक भएको हो।
तिवारीलाई शब्द संयोजनमा धिरज नाथले साथ दिएका छन्। अहिले हरेक दिन नेपालका युवायुवतीहरु विदेशिने क्रम जारी रहेको समयमा तिवारीले गाउँ घरलाई सम्झेर आऊ आजै बोलको गीत सावर्जनिक गरेर गीतमार्फत केही आशा जगाउन खोजेका हुन्। गीतमा अञ्जान बाबु र सुस्मिता क्षेत्रीको स्वर रहेको छ। गीतमा अञ्जानकै संगीत रहेको छ।
उद्यमशीलताबाट सामाजिक जनजीवनलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने जनसचेतनामूलक उद्यमशीलताको आभास दिने गीतको वाद्यवादनमा खड्ग बुढा, मनिष गन्धर्व, रत्न विक, सवीर कार्की, समिर जैरुको भूमिका रहेको छ। यस्तै समूह गायनतर्फ आरती विष्ट र सीता केसी रहेका छन् भने थेगो प्रह्लाद सुवेदीको छ। संगीत संयोजनमा सबिर कार्की, ध्वनी सम्पादनमा गोविन्द सोनी, दृश्य सम्पादनमा ठाकुर सुवेदी रहेका छन्। यमन पौड्यालको निर्देशनमा तयार भएको गीत हुरी स्टुडियो कुपण्डोलमा रेकर्ड भएको हो।
यो गीत पालिका अनलाइन डटकम समाचार पोर्टल तथा पालिका अनलाइन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। पर्वत सामुदायिक विकास संस्थाले गीतमार्फत प्रस्तुत गरिएको सामाजिक उद्यमशीलताको नमुनाका रुपमा सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गरी उद्देश्यलाई सार्थकता दिएको सञ्चालक थानेश्वर भुसालको भनाइ छ। अभियन्ता तिवारी ४ दशक अघिदेखि राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। तिवारीले सामाजिक उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुरस्कार समेत प्राप्त गरिसकेका छन्।
गीतमा कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाइ गाउँमा बस्ने, कमाउने र रमाउने वातावरण कसरी जस्ता महत्वपूर्ण सूत्रहरुको बारेमा जानकारी समेत दिन खोजिएको छ। तिवारीले लेखेको ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तकमा गाउँघरका साथै मुलुक कसरी समृद्धि बन्न सक्छ भन्ने विषयमा केन्द्रित रहेको छ।


