२०८३ कार्तिक १३ गते बिहिबार

डेनमार्कमा ‘सोल्ड आउट’ नेपथ्य साँझ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
04 Nepathya frontman Amrit Gurung addresses audience in Copenhagen. Photo – Dipit Raz – Nepalaya

कोपनहेगन: दुई साताअघि मात्रै बेलायतको वेम्बली एरिनामा १० हजार दर्शकका अघिल्तिर नेपाली लोकरक प्रस्तुत गरेको नेपथ्य डेनमार्कमा पनि दर्शकबाट उत्तिकै माया पाउन सफल भएको छ। कार्यक्रम हुनु केहि समय अगावै टिकटहरु सोल्ड आउट भइसकेको थियो।

युरोपमा औद्योगिक युगको पुरानो वैभव सम्झाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार अटेसमटेस दर्शकदीर्घामा नेपाली राजदूतदेखि नेपाल आएका उक्त मुलुकका राजदूतहरूको सपरिवार उपस्थिति थियो। शान्त कोपनहेगन सहर मात्र नभई वरपरका युरोपेली मुलुक फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन र बेल्जियमदेखि समेत नेपथ्यप्रेमी तन्नेरी उत्साहसाथ जम्मा भएका थिए।

कन्सर्टका लागि एक घण्टा अगावै अर्थात् बेलुकीको ठीक ६ बजे हलको ढोका खुल्नासाथ दर्शक चहलपहल सुरु भइसकेको थियो। जब पहिलो प्रस्तुतिका रूपमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो, हलभरिका दर्शकले उत्तेजना र उत्साहको आवाज गुन्जाउन सुरु गरिहाले। यो क्रम ब्यान्डका सदस्यहरू मञ्चमा आएपछि झनै बढ्यो।

मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरि चिच्याहट सुनियो नै, उठेका हातभरि चम्किरहेका मोबाइल फोनको बत्तीले पूरै हल झिलिमिली देखिएको थियो । यस क्रमले दुई घण्टा लामो कन्सर्ट अवधिसम्मै निरन्तरता पाइरह्यो।

डेनमार्कमा नेपथ्यले आफूलाई नौ वर्षपछि उभ्याएको हो।

नेपाली राजदूत सुम्निमा तुलाधरले यो कन्सर्ट मात्र नभएर नेपाली उत्सव बनेको प्रतिक्रिया दिइन्। ‘सङ्गीत प्रस्तुत गर्ने अमृत गुरुङको टिमदेखि व्यवस्थापन सम्हालेकासम्म सबैको काम गराइमा कतै पनि कमजोरी देखिएन,’ उनी भन्दै थिइन्, ‘कार्यक्रमले देशबाहिर बसेका नेपालीलाई जोड्ने मात्र होइन, समुन्नत नेपालका लागि योगदान गर्न प्रेरणा पनि दिइरहेको थियो।’

नातिसहित सपरिवार उपस्थित भएर नेपालका लागि डेनमार्कका पूर्वराजदूत गर्ट मेनकीसमेत कन्सर्टमा रमाइरहेका देखिन्थे। ‘आफ्नो मुलुकको परम्परागत सङ्गीतलाई उच्च व्यावसायिक ढङ्गसहित प्रस्तुत गर्ने नेपथ्य स्वयंमा समुन्नत पुरानो नेपाल र आउँदो भविष्य, नेपाल र संसारभरि फैलिएका उसको नयाँ पुस्ता अनि नेपाल र बाँकी विश्वबीच सानदार पुल बनेको महसुस गरेँ,’ कन्सर्ट सकिएपछि गर्टको प्रतिक्रिया थियो, ‘मञ्चका कलाकार र हलभरिका दर्शक यसरी आपसमा घुलमिल भएर एकसुरले बाँधिएको कन्सर्ट विरलै देख्ने गरेको छु।’

आफ्नो सधैँको स्वभावजस्तै ब्यान्डका मुख्य गायक एवं अगुवा अमृतले कन्सर्ट अवधिभर दर्शकसँग गीतका साथसाथै संवादलाई जारी राखे।
‘आज बाको मुख हेर्ने दिन कुशेऔँसी हो,’ उनी भन्दै थिए, ‘कुनै कारणवश घरमा फोन गर्न भ्याउनुभएको छैन भने गरिहाल्नुस्। मनमुटाव भएको छ भने पनि कुरा गरेर सुल्झाइहाल्नुस्।’

घर छाडेर यति पर आएका दर्शक अमृतका यी शब्दले भावविभोर बन्न पुगेका थिए।

अमृतले विदेशमा बसेका बेला नेपाली एकजुट हुनुपर्ने र आफ्नो भाषा अनि पहिचानलाई अझ दह्रोसँग समात्नुपर्ने आवश्यकता पनि औँल्याए।

फिनल्यान्डको हेलसिन्कीबाट आएकी व्योमा ताम्राकारका लागि कोपनहेगनमा नेपथ्यको कन्सर्ट हेर्न पाउनुले अर्को रमाइलो थपिरहेको थियो। ‘सन् २००६ मा हेलसिन्कीमा भएको नेपथ्यको कन्सर्ट अझै सम्झना छ,’ उनले उतिखेर र अहिलेको प्रस्तुति तुलना गर्दै भनिन्, ‘गीतदेखि दर्शकदीर्घासम्मको वातावरणले प्रत्येक सेकेन्डलाई अविस्मरणीय बनाइरहेको देख्दा यसपाला यस ब्यान्डप्रति मेरो आकर्षणले अर्को नयाँ उचाइ समातेको पाएँ।’

व्योमाका अनुसार सङ्गीतकर्मी र व्यवस्थापनको यस स्तरको प्रस्तुतिले नेपाली सङ्गीतलाई नै उँचो बनाएको छ। ब्यान्डको जोसिलो प्रस्तुतिले सम्पूर्ण दर्शकलाई उफ्रिएर नाच्न बाध्य बनाइदिएको उनले बताइन्।

उता नर्वेको राजधानी ओस्लोदेखि आएका प्रलय रिसाल यो कन्सर्ट सङ्गीतप्रेमीका लागि जीवनमा एकपटक लिनैपर्ने अनुभवको स्तरमा उभिएको सुनाइरहेका थिए ।

कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले स्वदेशमा स्कुल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गरिदिएर भए पनि देशप्रतिको दायित्व निभाइदिन दर्शकलाई अपिल गरेका थिए। यसरी सामाजिक दायित्वलाई सन्देशका रूपमा सुनाउँदासुनाउँदै पनि नेपथ्यले सर्वकालिक हिट गीतहरू नछुटाई दर्शकमाझ प्रस्तुत गरेको थियो।
दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसुर्जे’ सुनाएपछि ब्यान्डले बिदा मागेको थियो।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
‘लामो समयदेखिको प्रतीक्षा अनि दुई वर्षको अथक मेहनतले दिएको प्रतिफल हो यो,’ स्थानीय आयोजक टोली पवन पाण्डे भन्छन्, ‘एकातिर सपना पूरा भएको छ भने अर्कातिर सबै दर्शक रमाएर फर्केको देख्दा खुसीको सिमाना छैन।’

डेनमार्कमा हासिल गरेको यो सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अब अर्को मुलुक माल्टा पुगेको छ । त्यस मुलुकको उत्तरी भेगमा पर्ने आटार्ड सहरस्थित ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा अगस्त २७ बुधबार नेपथ्यका गीतहरू गुन्जिनेछन्।

त्यसपछि ब्यान्ड अगस्त ३१ आइतबार प्रस्तुत हुने गरी पोर्चुगलतर्फ प्रस्थान गर्नेछ। राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा कार्यक्रम राखिएको छ ।
युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ। त्यहाँस्थित एईडी स्टुडियोजको स्टुडियो सेभेनमा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ।

युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ। त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ।

प्रकाशित: २०८२ भदौ १० गते मङ्गलबार ०१:५३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना