काठमाडौँः नेपाली फिल्म क्षेत्रका दुई ठूला निर्माता तथा निर्देशक दीपकराज गिरी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलेको छ।
दीपकराजले मंगलबार बिहान ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्म लाइ गाली गर्न लगाउने काम बन्द गरौ ! आफ्नो हिरो बाघ ! अरूको स्याल? याद गरौ बाघ पनि जनाबर नै हो !’ भनेर स्टाटस लेखेका थिए। त्यसमा सेनले टिप्पणी गर्दै गिरीमाथि आरोप लगाए, ‘तिम्रो सोचमै पाप छ।’
उनले अगाडि भनेका छन्, ‘कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर। यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेकाछौ त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन। हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो? तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो।’
दर्शकको भावनामा चोट पुर्याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै आफूहरूलाई आरोप लगाउने सोच गिरीमा भएको आरोप उनको छ। ‘कलाकार र सिर्जनाकर्ताहरू बीच प्रतिस्पर्धा हुनुपर्छ–तर त्यो सिर्जनामा, कामको गुणस्तरमा। कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैंलाई अगाडि बढ्ने पापी सोच पालेको छैन,’ उनले भनेका छन्, ‘हामीले ३–४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ। कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ। यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने, मैले बलिदानको सुरुवात नै कालीमाताको चरण छोएर गरेको हुँ। कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु यसै क्षण मेरो जीवन अन्त्य होस्।’
उक्त कमेन्ट डिलिट भएको भन्दै सेनले स्टाटस नै लेखेका छन्। उक्त आरोपपछि दीपकराजले अर्को स्टाटस पोष्ट गर्दै लेखेका छन्, ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले! बिचरो न त व्यंग्य बुझ्छ, न बौद्धिकता ! बुरूक बरूक साँढे उफ्रे झैँ उफ्रिन्छ।’
यसरी दुई निर्माता–कलाकारबीचको यो ‘स्टाटस–वार’ अहिले सामाजिक सञ्जालमा फिल्मी दुनियाँकै ‘टप गसिप’ बनेको छ। प्रयोगकर्ताहरू यस विवादलाई रमाइलोमा उडाइरहेका छन् भने दुवैका फ्यान एकअर्काप्रति खनिएका छन्।


