वासिङ्टन डिसी : अमेरिकी संसद्को माथिल्लो सदन सिनेटबाट संघीय बजेट पारित हुन नसक्दा देशमा फेरि एकपटक ‘सरकारी शटडाउन’ सुरु भएको छ। सेप्टेम्बर ३० को मध्यरातबाट औपचारिक रूपमा लागू भएको यस अवस्थाले सरकारी निकायका धेरै सेवाहरूमा अस्थायी अवरोध ल्याउने देखिएको छ।
सत्तारूढ रिपब्लिकन पार्टी र विपक्षी डेमोक्र्याटिक पार्टीबीच बजेट प्रस्तावका विषयमा सहमति जुट्न नसक्दा यस्तो स्थिति उत्पन्न भएको हो। दुवै पक्षले एकअर्कालाई शटडाउनको लागि जिम्मेवार ठहराउँदै आ-आफ्ना अडान कडा पारेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले पूर्व स्वीकृत बजेट प्रस्तावलाई कुनै संशोधनबिना पारित गर्न खोजेको थियो। तर आवश्यक ६० मत नपुगेपछि प्रस्ताव अड्किएको हो। सिनेटमा रिपब्लिकनको संख्या ५३ मात्र रहेकाले डेमोक्र्याटहरूको समर्थनबिना पारित हुन सक्दैन।
यसबीच, ह्वाइट हाउसको वेबसाइटमा शटडाउनको अवधि जनाउने काउन्टर राखिएको छ, जसले संकटको गम्भीरता दर्शाउँछ।
कुन-कुन क्षेत्र प्रभावित?
शटडाउनका बेला पनि सुरक्षासँग सम्बन्धित काम, सीमामा परिचालन, अस्पतालको आपतकालीन सेवा, प्रहरी, तथा एअर ट्राफिक कन्ट्रोल जस्ता अत्यावश्यक सेवाहरू भने सञ्चालनमै रहनेछन्।
तर, खाद्यसेवा नियमन, प्रारम्भिक शिक्षा, विद्यार्थी कर्जा योजना तथा राष्ट्रिय निकुञ्जजस्ता कार्यहरू आंशिक वा पूर्ण रूपमा अवरुद्ध हुने सम्भावना छ।
सेवाग्राही प्रमाणिकरण तथा अन्य प्रशासकीय प्रक्रिया रोकिएमा सामाजिक सुरक्षा तथा ‘मेडिकेयर’ योजनामा पनि ढिलाइ हुन सक्छ।
सरकारले अत्यावश्यक सेवाका कर्मचारीहरूलाई तलबबिना काममा लगाउन सक्नेछ भने अन्यलाई अनिश्चितकालीन बेतलबी बिदामा पठाउने अभ्यास हुनेछ। विगतमा यस्ता कर्मचारीहरूलाई पछि तलब दिइएको भए पनि यसपटक राष्ट्रपति ट्रम्पले केहीलाई स्थायी रूपमा हटाउने चेतावनी दिएका छन्।
कसरी आयो यस्तो अवस्था?
डेमोक्र्याटहरूले बजेट प्रस्तावमा जनस्वास्थ्य, मेडिकएड, रोग नियन्त्रण तथा अनुसन्धान संस्थाहरूको बजेट कटौतीप्रति आपत्ति जनाउँदै आएका छन्। उनीहरूले आफ्ना केही मागहरू समेट्न दबाब दिइरहेका छन्।
तर, रिपब्लिकन सांसदहरूले उनीहरूको मागलाई बेवास्ता गर्दै बजेट प्रक्रिया अड्काउने जिम्मा विपक्षीमाथि नै थोपरेका छन्। उनीहरू शटडाउनबाट जनआक्रोश बढ्ने अपेक्षामा डेमोक्र्याटहरूलाई राजनीतिक रूपमा कमजोर पार्ने रणनीतिमा लागेको ठानिएको छ।
सन् २०१८ को डिसेम्बरमा भएको ३५ दिन लामो शटडाउन अमेरिकी इतिहासकै सबैभन्दा लामो थियो। त्यसपछिको अहिलेको यो अवस्था धेरै कर्मचारीका लागि अनिश्चितता र अन्योलको घडी बनेको छ।


