काठमाडौँ: दशैँको फूलपातीदेखि देशभर प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले सुरुआती दुई दिनमा औसत व्यापार गरेका छन्। अपेक्षा गरिएकोजस्तो कमाइ गर्न नसके पनि ‘बलिदान’ अन्य दुई चलचित्रभन्दा अघि देखिएको छ।
दशैँको अवसर पारेर असोज १३ गतेबाट देशभर प्रदर्शनमा आएका तीन नेपाली चलचित्र बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले दुई दिनमा औसत व्यापार गरेका छन्। यद्यपि, बलिदानले अन्य दुई चलचित्रको तुलनामा अगाडि देखिएको छ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा उपलब्ध विवरणअनुसार, बलिदानले दुई दिनमा रु १ करोड ५ लाख ६५ हजारको ग्रस कलेक्सन गरेको छ। चलचित्रले पहिलो दिन २४४ शोबाट रु ५७ लाख १९ हजार ३४० र दोस्रो दिन २१३ शोबाट रु ४८ लाख ४६ हजार व्यापार गरेको हो।
सन्तोष सेनको निर्देशनमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।
त्यस्तै, हरिवंश आचार्य शीर्ष भूमिकामा देखिनुभएको चलचित्र हरिबहादुरको जुत्ताले दुई दिनमा रु ५९ लाख ५८ हजारको व्यापार गरेको छ।
चलचित्रले पहिलो दिन १३४ शोबाट रु २४ लाख ८५ हजार ६४ र दोस्रो दिन समान संख्याका शोबाट रु ३४ लाख ७३ हजारको कलेक्सन गरेको हो।
दीपेन्द्रकुमार खनाल निर्देशित यस चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, किरण केसी, दिव्य देव, राजाराम पौडेललगायत कलाकारको अभिनय छ।
यसैबीच, माइतीघरले दुई दिनमा रु ३८ लाख ६३ हजारको व्यापार गरेको छ। चलचित्रले पहिलो दिन १४४ शोबाट रु १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० शोबाट रु १९ लाख ६७ हजारको ग्रस आम्दानी गरेको हो।
रोहित अधिकारीको निर्माण तथा मिलन तामाङको निर्देशनमा बनेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत लगायतको अभिनय छ।


